गण्डकी प्रदेश

सडक मानवको सहारा सेवाआश्रम

बेंशीशहर । सहारा गुमाएर सडकमा पुगेका ३३ जना सडक मानवलाई मानव सेवा आश्रम लमजुङ शाखाले उद्धार गरेको छ । बेंशीशहरको हाई स्कूल चोकमा रहेको कार्यालयबाट उद्धार गरेकामध्ये आठ जनालाई पारिवारिक पुनः मिलन गराई सकिएको आश्रमकी लमजुङ संयोजक अनिता अधिकारीले जानकारी दिए ।

छैटौँ शाखाका रुपमा २०७३ साल चैत १२ गतेबाट लमजुङमा शाखा विस्तार गरेको आश्रमले हालसम्म यी सडक मानवको उद्धार गरेको हो । बेंशीशहरमै सडक पेटीमा मागेर जीवन निर्वाह गर्दै आएका ४० वर्षीय मिथुन मानवको उद्धार गरी विधिवत्रुपमा सडक मानवको उद्धार थालिएको थियो । शाखा विस्तार हुनुअगाडि सडक मानव भोकै नमरून् भन्ने मानसिकताका साथ सडकमै खाना र न्यायो कपडा वितरण गरिएको थियो ।

सडकमा अलपत्र परेका अशक्त, मनोरोगी व्यक्ति विभिन्न समस्याले ग्रस्त नौजनाले आश्रममा सेवा लिइरहेका छन् । उद्धारपछि चारजनाको मृत्यु भइसकेको छ । आश्रममा आइसकेपछि स्वेच्छिकरुपमा सातजनाले आश्रम छोडेका आश्रमका अभियन्ता प्रकाश दवाडीले बताए। “यहाँ राख्न नसकिने अवस्थाका केहीलाई हेटौँडा आश्रममा पठाएका छौँ । कडा मनोरोगी, अस्वभाविक व्यवहार गर्ने व्यक्तिलाई आश्रममा राख्ने कार्य चुनौतीपूर्ण छ”, उनले भने । सडकमा बेवारिसे बनेका एकजना भारतीय नागरिकलाई समेत आश्रमले उद्धार गरेको थियो ।

आश्रमले शारीरिक र मानसिक दुबैरुपमा अशक्त व्यक्तिलाई सडकबाट उद्धार गरी आश्रममा ल्याउने गरेको छ । आश्रमले साहराविहीन बनेका व्यक्तिको उद्धार, उपचार, पालनपोषण र पारिवारिक मिलन गराउने गरेको मानव सेवाआश्रमको सञ्चालन संस्था साँचो जीवन निर्माण अभियानका जिल्ला संयोजक किसान सङ्गीत नेपालीले बताए । उनका अनुसार मानसिक सन्तुलन गुमाएका व्यक्ति पनि आश्रमको हेरचाह र उपचारले निको हुने गरेको छ । “धेरै मानव माया, प्रेम र स्नेहको भोका हुन्छन् । पारिवारले जति दिनुपर्ने माया र स्नेह नपाएपछि ती मानव सडकमा आउन बाध्य हुन्छन्”, उनले भने ।

मनोरोग, अपाङ्गता, गरिबीजस्ता कारणले साहराविहीन बनेका व्यक्तिलाई आश्रम सारथी बनेको स्थानीयवासी बताउँछन् । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रमले दिइरहेको सेवाप्रति स्थानीयवासीले प्रशंसा गरेका छन् । मानव सेवा आश्रमले सफलता पाउँदै गएपछि देशका अन्य जिल्लामा पनि विस्तार गर्ने योजना रहेको आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । विसं २०६९ मा मकवानपुरको हेटौँडामा पहिलोपटक स्थापना भएको आश्रमले देशभर एक हजार ५०० भन्दा बढी व्यक्तिलाई सडकबाट उद्धार गरेको उहाले बताए।

नागरिक लाभान्वित

नेपाल सरकारले बनाएको विपन्न नागरिक औषधि उपचार कोषबाट लमजुङका १६३ नागरिकले सहयोग पाएका छन् । आव २०७४÷७५ मा सबैभन्दा बढी क्यान्सरबाट पीडित ७४ जनाले आर्थिक सहयोग लिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । मुटुसम्बन्धी रोगबाट पीडित ५१, मिर्गौलासम्बन्धी समस्या भएका ३१, स्पाइनल इञ्जुरीका ६ र हेड इञ्जुरीका एकजनाले कोषबाट लाभ लिएको जनस्वास्थ्य अधिकृत केशव चापागाईंले जानकारी दिए ।