प्रदेश 2

आन्दोलनमा खुट्टा गुमाएका झालाई राहत

राजविराज । प्रदेश सरकारले तेस्रो मधेश आन्दोलनमा खुट्टा गुमाएका सप्तरीका एक व्यक्तिलाई राहत रकम उपलब्ध गराएको छ । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–३ भारदहका श्रवणकुमार झालाई रु तीन लाख राहत रकम उपलब्ध गराए ।

मन्त्री साहले आन्दोलनका क्रममा शहीद भएकाको परिवार र घाइतेको जीवनयापन सहज गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । विसं २०७२ मङ्सिर ५ गते तेस्रो मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर झाको दायाँ खुट्टामा चोट लागेको थियो । त्यतिबेला उपचारकै क्रममा उनको खुट्टा काट्नुपरेको थियो ।

नेपाल पत्रकार महासङ्घ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, सङ्घीय समाजवादी फोरम नेपालका नेता विनोद माझी, स्थानीय सञ्चारकर्मी गङ्गा साह र रामसेवक यादवलगायतको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको थियो ।

कुखुराको चल्ला बरामद

भारतबाट नेपालतर्फ अवैधरूपमा ल्याउँदै गरेको तीन हजार चार सय बोइलर कुखुराको चल्ला सप्तरीको बलान बिहुल गाउँपालिकाबाट बुधबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मौवाहा मल्हनियाबाट खटिएको गस्ती टोलीले उक्त कुखुराको चल्ला बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

झण्डै रु एक लाख १९ हजार मूल्य पर्ने कुखुराका चल्लासहित सप्तरीको बोदेबर्साइन नगरपालिका–५ का अशोककुमार साहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । ६० कार्टुनमा तीन हजार चार सय कुखुराका चल्लासहित प्रहरीले साहलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए ।