राजनीति

जनप्रतिनिधिले जनताको पक्षमा इमान्दारीपूर्वक काम गरे लोकतन्त्र बलियो हुन्छः पूर्वराष्ट्रपति डा यादब

तनहुँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रलाई संस्थागत गर्न लोकतन्त्रको जग बलियो बनाउनुपर्ने बताएका छन् ।

व्यास नगरपालिकाको बहुउद्देश्यीय भवनको बुधबार यहाँ एक समारोहबीच उद्घाटन गर्दै उनले भने, “लोकतन्त्रको जग बलियो भयो भने मात्र नेपाली जनताले समृद्धि र सुशासनको अनुभूति प्राप्त गर्न सक्छ, त्यसैले यसका लागि सबै पक्ष गम्भीर भएर लाग्नुपर्दछ ।”

पूर्वराष्ट्रपति डा यादवले बहुउद्देश्यीय भवन निर्माणले यहाँको विकासमा ऊर्जा थपेको उल्लेख गर्दै मुलुकको विकास र समृद्धिका लागि पर्यावरण र सम्पदालाई जर्गेना गरी कलकारखाना स्थापना गर्नुपर्नेमा जोड दिए ।

तीनवटै तहका जनप्रतिनिधिले जनताको पक्षमा इमान्दारीपूर्वक काम गर्नुपर्ने पनि उनले बताए ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालीहरुलाई विदेशिनु नपर्ने गरी ऊर्जा शक्तिबाट धनी राष्ट्र बनाउनुपर्नेमा जोड दिदैं आत्मनिर्भर हुनका लागि कृषि र पर्यटन क्षेत्रमा क्रान्ति गर्नुपर्ने बताए ।

व्यासनगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रियसभाका सदस्य प्रकाश पन्थ, प्रदेशसभा सदस्य आशा कोइराला, दोबाटे बिक र सरिता गुरुङ, नेकपाका केन्द्रीय सदस्य पीएल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले तथा पूर्वसांसद धुव्र वाग्लेलगायतले बहुउद्देश्यीय भवन निर्माणले नगरपालिकाको आयस्तर वृद्धि हुने बताए ।

नगर विकास कोषको ऋण तथा अनुदान सहयोग र व्यास नगरपालिकाको रु ११ करोड ३७ लाख ८६ हजार संयुक्त लगानीमा उक्त भवन निर्माण भएको छ ।