समाचार

एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फरेन्स समापन

काठमाडौं । नेपाली सेना र युस इन्डोपेसिफिक कमाण्ड डाइरेक्टोरेट अफ इन्टेलिजेन्सको संयुक्त आयोजनामा एसिया प्यासिफिक क्षेत्रमा पर्ने मित्रराष्ट्रहरुका उच्च सैनिक रथीबृन्द तथा अधिकृत प्रतिनिधिहरुको सहभागीतामा मिति २०७५ भाद्र १८ गतेबाट शुभारम्भ भएको ११ औँ एसिया पेसिफिक ईन्टेलिजेन्स कनफेरेन्स (APICC) को बुधबार बलाध्यक्ष रथी हेमन्त राज कुँवरले होटल हायतमा एक समारोहका बीच समापन गरेका छन् ।

नेपालमा पहिलो पटक सञ्चालन भएको यस कन्फरेन्समा अस्ट्रेलिया, अमेरिका, बंगलादेश, बु्रनाई, बेलायत, कम्बोडिया, क्यानडा, फिजी, फ्रान्स, ईन्डोनेशिया, जापान, कोरिया, मलेशिया, मंगोलिया, नेपाल, न्यूजिल्याण्ड, पपुवान्यूगिनी, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड, टिमोर—लेस्ते, टोंगा, भियतनाम गरी जम्मा २३ राष्ट्रहरुका उच्च तहका सैनिक अधिकृतहरुको सहभागिता रहेको थियो ।

कन्फरेन्समा सहभागी मित्रराष्ट्रहरुका रथीबृन्द तथा अधिकृतहरुलाई नेपालको पर्यटकीय स्थल स्याङबोचे, पाटन दरवार स्क्वायर र स्वयम्भूनाथको अवलोकन भ्रमण गराईएको थियो । सन् २००७ मा मलेशियाबाट सुरुवात भएको यस APICC को बाह्रौ संस्करण आगामी वर्ष २०१९ मा फिलिपिन्समा हुने तय भएको छ ।

यस बहु(राष्ट्रिय संयुक्त कन्फरेन्सले वर्तमान र भविष्यमा उत्पन्न हुन सक्ने रणनैतिक सुरक्षा चुनौतिको समाधानको लागि अन्तर्राष्ट्रिय स्तरमा भेटघाट, छलफल र समन्वयद्वारा पेशागत विशेषज्ञता आदान–प्रदान हुन गई सैनिक इन्टेलिजेन्स क्षमतामा थप अभिबृद्धि गर्न मद्धत पुग्नुको साथै मित्र राष्ट्रहरुसँगको सैनिक सम्बन्ध अझ मजबूत र प्रगाढ भएको विश्वास नेपाली सेनाले लिएको छ । समापन समारोहमा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।