सुदूरपश्चिम

बैतडीमा पशु कृत्रिम गर्भाधान प्रयोगशाला

बैतडी । गाई र भैँसीको नश्ल सुधारका लागि बैतडीमा पहिलो पटक कृत्रिम गर्भाधान प्रयोगशाला स्थापना गरिएको छ । स्थानीय नश्लका पशुबाट कम दूध उत्पादन हुने भएकाले त्यसको सुधारका लागि डिलाशैनी गाउँपालिका –६ गोकुलेश्वरस्थित गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा सो प्रयोगशाला सञ्चालनमा आएको छ ।व्यावसायिक पशुपालनमा लागेका किसानलाई उन्नत जातका गाईभैँसी उत्पादनमा सहयोग पु¥याउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको सामाजिक चेतना तथा विकास सङ्घ (साडा) का कार्यक्रम संयोजक नागेन्द्र भट्टले जानकारी दिए । प्रयोगशालाबाट गाईभैँसीमा कृत्रिम गर्भाधान गराइनेछ ।

कलेज र साडाले आर्थिक विकासमार्फत विपद् जोखीम न्यूनीकरण परियोजनाको सहयोगमा रू ११ लाख बढीको लागतमा स्थापित यहाँ नाइट्रोजन र उन्नत जातको सिमेन ( वीर्य) राखिने बताइएको छ । प्रयोगशाला स्थापनापछि डिलाशैनी र दोगडाकेदार गाउँपालिकामा घुम्ती सेवा प्रदान गर्न दुई प्राविधिकको व्यवस्था गरिएको छ । अन्य स्थानीय तहले समन्वय गरेमा अन्य ठाउँमा समेत सेवा सञ्चालन गर्न सकिने जनाइएको छ ।
उन्नत जातका पशुको धेरै मूल्य पर्ने, आहारा, गोठ सुधारको कमी तथा परम्परागत पशुपालन पद्धतिका कारण आफ्नो व्यवसायबाट फाइदा लिन नसकेका कृषकले प्रयोगशालामा लगेर पशुको गर्भाधान गराएर फाइदा लिन सक्नेछन् । एक गाई अथवा भैँसीमा कृत्रिम गर्भाधानको शुल्क रु २५ भए पनि प्राविधिक खर्च थपेर प्रति पशु रु ३०० लिने समझदारी भएको छ ।

डिलासैनी गाउँपालिकाका र आसपासका कृषकले गाई तथा भैँसीमा कृत्रिम गर्भाधान गराउन सक्ने कलेजका प्रमुख प्रमानन्द जोशीले बताए । गोकुुलेश्वर क्षेत्र पशुपालनका लागि परिचित ठाउँ हो । उनले भने, “ कृत्रिम गर्भाधान गरी स्थानीय जातका गाई भैँसीबाट जन्मेका बाच्छाबाच्छी तथा पाडापाडी उन्नत जातकै हुनेछन् र अन्यत्रबाट महँगोमा किनेर ल्याउनु पर्ने छैन ।”

कलेजमा उक्त प्रयोगशाला भएकोले विद्यार्थीलाई प्रयोगात्मक शिक्षाका लागि पनि सजिलो भएको छ । यसको दिगोरुपमा सञ्चालन गर्न निरन्तर सहयोग हुने गाउँपालिकाका अध्यक्ष उकेन्द्र बोहराले बताए । दूधजन्य उत्पादनका लागि बढीभन्दा बढी फाइदा लिई व्यावसायिक बन्न उहाँले किसानलाई आग्रह गरे ।
सो कार्यालय सञ्चालनपश्चात् प्रत्येक वडामा सूचना सम्प्रेषण गर्ने, पशु स्वास्थ्य शिविर सञ्चालनसाथै जनचेतनाका लागि घरदैलो अभियान र प्राविधिक जनशक्ति परिचालन गरी कार्यक्रमको प्रभावकारिताको अनुगमन गरिने जनाइएको छ । जिल्लाको डिलाशैनी र दोगडाकेदार गाउँपालिकाका –१० वटा समुदायमा दुग्धजन्य उत्पादन वृद्धि तथा पशुपालन व्यवसाय प्रवद्र्धन गर्न विगत पाँच वर्षयता किसानलाई तालीमसमेत दिँदै आएको छ । यसअघि डिलाशैनीको डडियामा एउटा सामुदायिक संस्थाले बाख्रामा कृत्रिम गर्भाधानका लागि प्रयोगशाला सञ्चालनमा ल्याइसकेको छ ।