लुम्बिनी

छाडा पशु नियन्त्रण गरिने

बुटवल । चौपायालाई सडक तथा वनजंगलमा छाड्ने प्रवृत्ति रोक्न रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि’ कार्यान्वयनमा ल्याउने भएको छ ।

छाडा चौपायाका कारण विभिन्न समस्या बढेपछि नगरपालिकाले घरमा पालिएका चौपाया बेवारिसे छाड्ने व्यक्तिलाई जरिवाना गर्ने नियम बनाएको हो । कार्यविधिमा घरपालुवा चौपाया बेवारिसे छाडा छाड्नेलाई पहिलो पटक बढीमा रु तीन हजारसम्म जरिवाना गर्न सकिने उल्लेख छ ।

गाई÷गोरु–बाच्छाबाच्छी बेवारिसे छाडिएमा तीन हजार, राँगा/भैँसी–पाडापाडीको सात सय, बाख्रा, खसी, बोका, भेडा, सुँगुर/बङ्गुरको पाँच सय जरिवाना गर्ने नियम नगरपालिकाले बनाएको छ । तिलोत्तमा नगरपालिकामा छाडा गाई/गोरु बाच्छाबाच्छीको समस्या छ ।

घर–गोठमा पालिएका पशु चौपायालाई छाडा छाड्ने प्रवृत्तिलाई रोक्न नगर कार्यपालिकाले कार्यविधि जारी गरेको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

बेवारिसे छाडा पशु चौपायाले सडक एवं सार्वजनिकस्थलमा पु¥याइरहेको अवरोधले हुनसक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा क्षति नियन्त्रण गर्न कार्यविधि जारी गरिएको उनले उल्लेख गरे ।

नगरपालिकाले जारी गरेको यो कार्यविधि विपरीत घर–गोठमा पालिएका पशु चौपाया नियतवश घरबाट हटाउने उद्देश्यले सार्वजनिक स्थलमा बेवारिसे छाडी दिने गरेको पाइएमा नगरपालिकाले त्यस्ता पशु चौपाया धनीको पहिचान गरी पहिलो पटक बढीमा तीन हजार र पटक–पटक गरेमा क्रमशः ५० प्रतिशतका दरले बढाउँदै जरिवाना गरी नियन्त्रणमा लिइएका त्यस्ता छाडा पशु चौपाया सम्बन्धित पशुधनीकै जिम्मा लगाउने नियम नगरपालिकाले बनाएको छ ।

घर–गोठबाट पशु चौपाया हटाउने मनसायले त्यस्ता पशु चौपाया सार्वजनिकस्थलमा बेवारिसे अवस्थामा छाड्ने, छाड्न लगाउने कार्यमा संलग्न पशु चौपाया धनीको सूचना दिने व्यक्ति, सङ्घ संस्थालाई त्यस्तो चौपाया धनीबाट असुल गरिएको जरिवानाको ५० प्रतिशत रकम पुरस्कारस्वरुप उपलब्ध गराउने व्यवस्था पनि नगरपालिकाले गरेको छ ।