राजनीति

कर्मचारीले जनताका काम नै छाडेर राजनीति गर्न हुन्नः सभापति देउवा

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीले नेपाल र नेपाली जनताप्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने, “कर्मचारीले पार्टीप्रति होइन, मुलुक र मुलुकवासीप्रति प्रतिबद्ध भएर काम गर्नुपर्छ भन्ने मान्यता काङ्ग्रेसको छ ।” उनको कर्मचारीले आफ्नो काम छाडेर राजनीति गर्न नहुनेतिर संकेत देखिन्थ्यो ।

सभापति देउवाले वर्तमान सरकारले कर्मचारी संयन्त्रलाई पार्टीप्रति प्रतिबद्ध कर्मचारीतन्त्र बनाउन खोजिएको आरोप लगाउँदै पछिल्लो समयमा कर्मचारी संयन्त्र, न्यायालय र प्रहरी प्रशासनलगायत क्षेत्रमा बढ्दै गएको राजनीतिक हस्तक्षेपप्रति दुःख व्यक्त गरे ।

काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको काम तथा व्यवहारवाट जनता निराश हुन थालेको बताउँदै प्रेस, व्यापारी, प्रशासन र न्यायालयमा हस्तक्षेप बढ्नु मुलुक र लोकतन्त्रका लागि राम्रो होइन भने ।

काङ्ग्रेसका नेता एंव पूर्वमन्त्री शंकर भण्डारी र नेतृ कमला पन्तले सङ्घीयता नेपालमा पहिलोपटक लागू भएकाले केही समस्या देखिएपनि पनि कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

आधिकारिक टे«ड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल, युनियन (सङ्घ)का पूर्वमहासचिव जीतबहादुर कँडेल, पूर्वअध्यक्ष सुबोधकुमार देवकोटा, शोभाकर रेग्मी तथा वर्तमान अध्यक्ष गोपालप्रसाद पोखरेलले प्रस्तावित सङ्घीय निजामती सेवा ऐन कर्मचारीको हितमा नभएकाले यसमा व्यापक संशोधन गर्न सरकारसंग आग्रह गरे ।

सो अवसरमा सभापति देउवाले नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) विकास तथा विस्तारमा उल्लेखनीय योगदान दिने पूर्वउपाध्यक्ष रुद्र खनाललाई रु ५१ हजार नगदसहित सम्मान गरे ।

यसैगरी युनियनसंग आवद्ध ७२ जना पूर्वकर्मचारीलाई पनि कार्यक्रममा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।