समाचार

आतङ्कवादसम्बन्धी महासन्धि स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको सो प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा भाग लिदैं सांसदले आतङ्कवाद नियन्त्रण नगर्ने हो भने शान्तिसुरक्षामा खलल आउने भएकाले महासन्धि स्वीकृत हुनुपर्नेमा जोड दिए।

छलफलमा सांसद रामनारायण विडारी, जीतेन्द्रनारायण देव र बिमला राई पौडेलले भाग लिएका थिए । सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिदैं गृहमन्त्री थापाले शान्ति तथा अमनचयन कायम गर्न महासन्धिको आवश्यकता रहेको बताए ।

त्यसैगरी राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले ‘अन्तर्राष्ट्रिय हवाई परिवहन’ विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि’ र ‘जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको आनुवंशिक स्रोतमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँडसम्बन्धी नागोया अभिसन्धिको सम्मिलन’को आज टेबुल गरे । राष्ट्रियसभाको अर्को बैठक भदौ २२ गते शुक्रबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।