पु.समाचार

अध्यक्ष ओली नेतृत्वको सरकार आदिवासी जनजाति विरोधी होः अध्यक्ष लेखी

धरान, सुनसरी ।  नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रिय अध्यक्ष राजकुमार लेखीले अहिलेको कम्युनिष्ट सरकार आदिवासी जनजाति विरोधी भएको बताएका छन् । उनले दुई तिहाईको कम्युनिष्ट सरकार बनेपछि आदिवासी जनजातिको पहिचानसंग सम्बन्धित मौलिक राष्ट्रिय पर्वहरुको विदा कटौति गरेको, राज्यलाई असमावेशी बनाउंदै लगेको, संविधान संशोधनप्रति उदासिन रहेको र फेरी पनि मुलुकी संहिता मार्फत आर्थिक सामाजिक, सांस्कृतिक, धार्मिक र भाषिक विभेदलाई कायमै राखेको भन्दै ओली–दहालको सरकार आदिवासी जनजाति, मधेशी, मुस्लिम, अल्पसंख्यक र उत्पीडीत समुदाय विरोधी रहेको बताएका छन् । आदिवासी जनजाति सरोकार समाज, सुनसरीले धरानमा आयोजना गरेको “आदिवासी जनजातिको सवाल र वर्तमान अवस्था” विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएको हो । थारु कल्याणकारी सभाका पूर्व केन्द्रिय अध्यक्ष समेत रहेका लेखीले नेपाल आदिवासी जनजाति महासंघको आन्दोलन जारी नै रहेको र कार्तिकवाट थारुहरुले वडा र गाउं केन्द्रित आन्दोलन गरी गिरफ्तारी दिएर जेल भराऊ आन्दोलन शुरु गर्ने उद्घोष गरेका छन् ।

आदिवासी जनजाति सरोकार समाज, सुनसरीका अध्यक्ष सुजेन्द्र तामाङले सुनसरीमा रहेका आदिवासी जनजाति अगुवाहरु, आम आदिवासी जनजाति जनताहरु र आदिवासी जनजातिजन्य संघसंस्थाहरुलाई विभिन्न गोष्ठी, सेमिनार, अन्तरक्रिया, छलफल, प्रशिक्षण आदि मार्फत सुदृढिकरण, सशक्तिकरण, सवल, सक्षम र गतिशील बनाउने तथा आदिवासी जनजातिका विभिन्न संघसंस्थाहरुलाई सहयोग र सहजिकरण गर्ने उद्देश्यले आदिवासी जनजाति सरोकार समाज गठन गरिएको बताउए ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रिय सचिव ध्यानी उरांवले आदिवासी जनजातिहरुले एक भएर आन्दोलन गर्नुको विकल्प नरहेको बताए । महासंघका १ नं. प्रदेश संयोजक ध्रुव सुब्बाले महासंघ समन्वयकारी संगठन भएकाले सबै जातिय संस्थाहरुलाई समन्वय गर्दै अघि बढिरहेको बताए । महासंघका पूर्व सुनसरी अध्यक्ष खम्वासिंह गुरुङले आदिवासी जनजातिहरु पाटी भन्दा माथि उठ्नुपर्ने बताए । महासंघका पूर्व सुनसरी उपाध्यक्ष तेजप्रसाद चौधरीले जनजाति महासंघले सबैलाई समेट्न नसकेको भन्दै पदमा नरहेका अग्रज र अनुभवीहरुलाई समेत मुलधारमा ल्याउन महासंघ नेतृत्वका ध्यानाकर्षण गराए । महासंघका पूर्व सुनसरी सचिव शुभचन्द्र राईले आदिवासी जनजातिहरुले नाचगानमा भन्दा आन्दोलन र सांगठनिक गतिविधिहरुमा ध्यान दिनुपर्नेमा जोड दिए । किरांत याकथुङ चुम्लुङका केन्द्रिय सदस्य विजय लुङ्फुवाले आदिवासी जनजाति आन्दोलन रक्षात्मक जस्तो मात्र देखिएको भन्दै आपत्ति जनाए । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका सुनसरी अध्यक्ष संगिता सुब्बाले राज्यले आदिवासी जनजातिहरुको हक अधिकारहरु ठाडै हनन् गर्दा समेत जनजाति नेतृत्वहरु मुक दर्शक भएर बसेको आरोप लगाए ।

कार्यक्रम समाजका अध्यक्ष सुजेन्द्र तामाङको अध्यक्षता र सहसचिव गजेन्द्र मुखिया सुनुवारको सञ्चालनमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति महासंघ, महासंघका संबन्धन संस्था र जातिय संस्थाका विभिन्न तह र जिम्मेवारीमा रहेका आदिवासी जनजातिका अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।