प्रदेश 1

प्रदेश नं १ : विधेयक पारित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको बैठकले विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिकमत कार्कीद्वारा प्रदेश नं १ को प्रदेशसभा नियमावलीको नियम १०८ बमोजिम विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव गरको थियो ।

यसअघि बैठकको शून्य समयमा प्रदेशसभाका सदस्य सावित्रा रेग्मीले नेपाल भारतकै बिरामीलाई सेवा प्रदान गर्ने कोशी अञ्चल अस्पताललाई सत्तरोन्नति गर्नुपर्ने बताए । उनले ४० वर्षअघि तत्कालीन आवश्यकतालाई हेरेर बनाइएको यो अस्पताल अहिले आवश्यकता पूरा गर्न नसक्ने भएकाले यसको सुधारको कुरा उठाएको हो ।

सोही अवसरमा प्रदेशसभाका अर्की सदस्य सुनिताकुमारी चौधरीले आदिवासीले मनाउने जितिया पर्वमा बिदा दिन प्रदेश सरकारलाई आग्रह गरे । विशेष समय लिएर नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले प्रदेश नं १ को नाम र स्थायी राजधानी घोषणा गर्न माग गरे ।
प्रदेश सरकारले सङ्घीयताप्रति जनताको विश्वास गुम्न नदिन पनि उनले आग्रह गरे। प्रदेशसभाको अर्को बैठक भदौ २१ गते दिउँसो १ बजे बस्नेछ ।