बाग्मती

प्रशासनिक सुगमताका आधारमा राजधानी तोक्न सुझाव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ३ को संसदीय दलको बैठकले प्रशासनिक सुगमता, सर्वसाधरणको पहुँच, पूर्वाधारलगायत विषयलाई आधार बनाएर प्रदेश राजधानी तोक्न सुझाव दिएको छ ।

संसदीय दलको कार्यालयमा आज बसेको उक्त बैठकले राजधानी तोक्न गठित कार्यदलले बुझाएको प्रतिवेदन अहिलेसम्म संसद्मा प्रवेश हुन नसकेको विषयमा छलफल गर्दै आगामी असोज १ गते बस्ने संसद् बैठकमा पेश गर्नका लागि वातावरण तयार गर्ने निर्णय गरेको नेता केशव पोखरेलले जानकारी दिए। राजधानीका लागि उपयुक्त जिल्लाका रुपमा भक्तपुर, काभ्रे, नुवाकोट, चितवन र मकवानपुर प्रस्तावित छन् ।

प्रादेशिक विकासका लागि निर्माण भएका योजना कार्यान्वयन गर्नका लागि १३ वटै जिल्लामा प्राविधिक कार्यालय स्थापना गर्न बैठकले सुझाव दिएको छ । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलको संयोजकत्वमा गठित संसदीय दल विधान निर्माण समितिले बुझाएको प्रतिवेदनमा प्रादेशिक संसदीय दल सञ्चालनका लागि कार्यविधि, आचार संहिता, ह्विपसम्बन्धी व्यवस्था, दलको निर्णयलगायत विषय छन् ।