प्रदेश 2

तिहार अगावै पटाका भित्रिदै

वीरगञ्ज । हिन्दूको महान चाड तिहारलाई लक्षित गरी तस्करहरुले अहिलेदेखि नै पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु गरेका छन् । नेपाल–भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटाका भित्र्याउने गरेको छ ।

तस्करहरुले पर्साको भिस्वा, सिकटा, भेलाइ, इनर्वा, जानकीटोला, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिमरौनगढ, कचौर्वालगायतका नाकाबाट पटाका ल्याउने गरेको देखिन्छ । आउँदो कात्तिकमा हुने तिहार पर्वलाई लक्षित गरी तस्करहरुले अहिलेदेखि नै सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटाकाको व्यापक तस्करी गर्ने गरेका छन् ।

भारतको रक्सौल आदापुर, सिक्टालगायतका भारतीय बजारबाट ती पटाका वीरगञ्ज, कलैयालगायतका नेपाली बजारसम्म पु¥याएबापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौंँसम्म पु¥याएबापत २०० प्रतिशतसम्म लिने गरेको व्यापारीहरु बताउँछन् ।

नेपाल भारत सीमा क्षेत्रमा रहेको सुरक्षाकर्मीको ध्यान अर्कैतिर गएको मौकाछोपी तथा तिहार अगावै पटाका ल्याउँदा प्रहरीको ध्यान नजाने भएकाले अहिले नै पटाका ल्याउने उपयुक्त समय भएको ती तस्करको भनाइ छ ।

अति प्रज्ज्वलनशील पदार्थको रुपमा रहेको पटाका नेपाल भित्रिने गरेको बारे प्रहरी अधिकारी बेखबर रहेका छन् । खासगरी भारतबाट आउने मालबाहक सवारीसाधन, जीप, कार, टाँगाजस्ता गाडीमा पटाका लुकाइछिपाई ल्याउने गरेको देखिन्छ ।

सीमा नाकाबाट अवैधरुपमा भारतबाट पटाका आउने गरेकोबारे जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले सीमा क्षेत्रमा रहेका मातहतका सुरक्षाकर्मीलाई पटाकामा व्यापक रोक लगाउन निर्देशन दिइएको बताए । बारा र पर्सा जिल्लासँग जोडिएका ग्रामीण क्षेत्रका नाकाबाट नेपाल भित्रिने सवारीसाधनमा तस्करले पटाका ल्याउँदा करोडौँ रुपैयाँ विदेशिनुको साथै लाखौँ रकमको कर छली भएको छ ।