सुदूरपश्चिम

मध्यवर्ती क्षेत्रमा खोरेतको प्रकोप

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ६ र ७ का बासिन्दाले पालेका पशुमा खोरेत रोगको प्रकोप देखा परेको छ । खोरेतका कारण ८०० बढी चौपाया प्रभावित भएका छन् ।

एओसी र एशिया वन नामक भाइरसका कारण सर्ने खोरेत रोग खुर फट्टा जनावर बाख्रा, बङ्गुर, गाई, गोरु, भैँसीलगायतमा बढी देखिएको छ । हावा, पानी, खानपिन, पशुको लसपसबाट छिटो फैलिने यो रोग छोटो अवधिमै धेरै चौपायामा सरेको नगरपालिका पशु शाखाका प्रमुख तारादत्त अवस्थीले बताए । “खोरेत रोग लागेका पशुको खुर र मुखमा घाउ हुने र उच्च ज्वरो आउने र उपचार नहुँदा पशुका घाउमा किरा पर्ने समस्या रहन्छ”, उनले भने । ब्याउने गाई, भैँसी बङ्गुर र बाख्रा तुहिने समस्यासमेत देखिएको उनले बताए ।

खोरेत सङ्क्रमण भएमा ब्याउने पशु तुहिने, कम उमेरका पाठापाठी, बाच्छाबाच्छी र पाडो पाडी मर्ने क्रम शुरु भएको स्थानीयले बताएका छन् । मध्यवर्ती क्षेत्रका बासिन्दाले चौपाया चराउन निकुञ्ज क्षेत्रमा छाड्ने र जङ्गली जनावरबाट सो रोग सरेको हुनसक्ने बताइएको छ । निकुञ्जका संरक्षित जनावरसमेत खोरेतबाट प्रभावित हुनसक्ने देखिएको छ ।

महामारीका रुपमा यो रोग सर्न सक्ने भएकाले यसको रोकथाम जरुरी भएको पशु प्राविधिकको भनाइ छ । खोरेत रोगको विषाणु अति सुक्ष्म, बाहिरी वातावरणमा लामो समयसम्म क्रियाशील र दूषित घाँसपातमा एक महिनासम्म जीवित रहन सक्ने हुन्छ । हडडीसहितको चिस्याइएको मासुमा लामो समय खोरेतको विषाणु बाँचिरहन्छ ।