गण्डकी प्रदेश

उपभोक्तालाई खानेपानी चाँडै

बागलुङ । ‘लिफ्टिङ’ प्रविधिको बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको काम शुरु भएको छ । ठेकेदार कम्पनी ‘कन्काइ जयमाता जेभी’ले संरचना निर्माणको काम अघि बढाएको हो । रु ४५ करोड २७ लाखको लागतमा बन्ने उक्त आयोजना दुई वर्षभित्र पूरा गर्ने लक्ष्य छ । बागलुङ नगरवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउने उद्देश्यले सो आयोजना निर्माण गर्न लागिएको कन्काइ जयमाताका कार्यालय प्रमुख हिमाल शर्माले जानकारी दिए ।

स्थानीय काठेखोलाको पानी विद्युतीय ऊर्जामार्फत तानेर बजार क्षेत्रमा ल्याइनेछ । उक्त आयोजनामा सरकारको ७० र बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ३० प्रतिशत लगानी रहेको छ । उक्त आयोजनाबाट नगर क्षेत्रका ६० हजार उपभोक्ता लाभान्वित हुने शर्माले बताए । काठेखोलाको पानी ‘लिफ्ट’ प्रविधिबाट तानेर बागलुङ नगरपालिका–३ रातामाटा पु¥याइनेछ । काठेखोलादेखि सात सय मिटरमाथि रातामाटामा बन्ने पाँच लाख लिटर क्षमताको ट्याङ्कीबाट खानेपानी वितरण गरिनेछ ।

कैलामपोखरीमा बन्ने प्रशोधन एकाइमा शुद्धीकरण भएको पानी उक्त ट्याङ्कीमा जम्मा हुनेछ । “आयोजना बनेपछि खानेपानी समस्या पूरै हट्छ,” शर्माले भने । आयोजनाबाट बागलुङ नगरपालिकाका– १, २, ३ र ४ का उपभोक्ता लाभान्वित हुनेछन् । बजार क्षेत्र बाहेकका गहते, बोक्से, सुल्डाँडा, रातामाटालगायतका थप नौ सय घरधुरीलाई खानेपानी उपलब्ध हुनेछ । हाल सञ्चालित आयोजनाबाट बजार क्षेत्रका तीन हजार २०० घुरधुरी लाभान्वित भएका छन् ।

उक्त आयोजना समयमै पूरा गरिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख शेखरचन्द्र केसीले बताए । सो कार्यालयले आयोजनाको प्राविधिक मूल्याङ्कन, अनुगमन तथा सुपरीवेक्षण गर्नेछ । पुरानो आयोजनाले उपाभोक्ताको माग धान्न नसकेपछि ‘लिफ्टिङ’ प्रविधिको आयोजना बनाउन लागिएको हो ।