प्रदेश 1

रकमसहित एक पक्राउ

बनियानी, झापा । मेचीनगरबाट चोरीको रकमसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–६ का २५ वर्षीय मिलन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । श्रेष्ठले मेचीनगर–६ स्थित एसेस लाउण्डा मिनी क्यासिनोबाट गत भदौ ९ गते दराज फुटाएर रु ११ लाख ९३ हजार चोरी गरेका थिए । क्यासिनोमै काम गर्ने कर्मचारीको टिप्स राख्ने दराज फुटाएर उनले चोरी गरेका थिए । श्रेष्ठ सोही क्यासिनोका कर्मचारी हुन् । उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।

उपचार केन्द्रको माग

कचनकवल गाउँपालिकामा विद्यार्थीले सर्पदंश उपचार केन्द्रको माग गरेका छन् । सर्पदंशका कारण वर्षेनी धेरैले ज्यान गुमाउन थालेको भन्दै उनीहरूले उपचार केन्द्रको माग गरेका हुन् । सोमबार यहाँका ६ विद्यालयका करीब सात सय विद्यार्थीले उपचार केन्द्रको माग गर्दै गाउँपालिकाका अध्यक्ष अञ्जार आलमलाई ज्ञापनपत्र बुझाएका छन् । सर्पदंशबाट दुई महिनायता तीन बालबालिकाले ज्यान गुमाएका छन् । गाउँपालिकाका अध्यक्ष आलमले उपचार केन्द्रका लागि रु २० लाख बजेट विनियोजन गरिएको बताए । “चाँडै सर्पदंश उपचार केन्द्र स्थापना हुन्छ,” उनले भने । जिल्लामा चारआली, सुरुङ्गा र दमकमा मात्र सर्पदंश उपचार केन्द्र छ ।