प्रदेश 1

लुकाइछिपाई राखिएको भारतीय नोटसहित पक्राउ

भद्रपुर । पूर्वी नाका काँकडभिट्टाबाट लुकाइछिपाई रु १२ लाख ८० हजार भारतीय रुपैयाँ ल्याउन खोज्ने एक युवकलाई आज प्रहरीले भन्सार कार्यालय भित्रैबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर–६ का ३२ वर्षीय रवीन्द्र बज्राचार्य रहेको छ । उनले भन्सारबाट लुकाइछिपाई सन्दिग्ध अवस्थामा सो नगद ल्याएको हुँदा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका बज्राचार्यलाई आवश्यक अनुसन्धानका लागि आजै नेपाल एयरलायन्सको जहाजबाट राजस्व अनुसन्धान विभाग काठमाडौँमा पठाइएको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले जानकारी दिए ।

भारतको सिक्किमबाट पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गरेका बज्राचार्यको झोला भन्सार चेकपोस्टमा एक्स–रे मेसिनबाट जाँच गर्दा उक्त रकम बरामद गरिएको हो ।

बज्राचार्यको साथबाट बरामद गरिएको भारतीय नोटमा रु ५०, रु १००, रु २००, रु ५०० र रु एक हजार को रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश घिमिरेले जानकारी दिए ।

सो नगद के प्रयोजनका लागि ल्याइएको हो भन्ने कुरा अनुसन्धानपछि मात्र खुल्ने प्रहरीको भनाइ छ ।