पर्यटन/संस्कृति

प्रधानमन्त्रीबाट रणउजेश्वरी भगवती जात्राका अवसरमा शुभकामना

पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको रणउजेश्वरी भगवती जात्राका अवसरमा नेपाली दिदीबहिनी तथा दाजुभाइ विशेष गरी पाल्पाली जनसमुदायप्रति बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

उनले आजको जात्राको सफलताका लागि अहोरात्र मेहनत गरिरहेका युवालाई पुर्खाको वीरगाथाको स्मरण गर्दै समृद्ध नेपाल र सुखी नेपाली बनाउने सकल्प पूरा गर्नका लागि कटिबद्ध हुन आह्वान गर्दै भगवती रथयात्राको सफलताको शुभकामना व्यक्त गरेका छन् । बुटवलबाट प्रवेश गरी पाल्पा कब्जा गर्ने अङ्ग्रेज आक्रमणकारीको दुःसाहसलाई परास्त गर्ने नेपाली सेनाका अमर योद्धा उजिरसिंह थापाको नेतृत्वमा हासिल गरिएको विजयको खुशीयालीमा सो जात्रा शुरु भएको थियो ।

कर्णेल थापाले सीमित स्रोत साधनबाटै जीतगढीको मोर्चामा अङ्ग्रेज आक्रमणकारीलाई पराजित गरी देशको सार्वभौमसत्ता जोगाउन भूमिका निर्वाह गरेका थिए । ती देशभक्त योद्धाले विसं १८७१–७२ नेपाल–अङ्ग्रेज युद्धका क्रममा आफ्नो पराक्रम साहस र रणकौशलका साथ पाल्पा हुँदे अन्ततः नेपाल कब्जा गर्ने अङ्ग्रेजको योजनालाई विफल तुलाइदिएका थिए ।

थापाको त्यही अदम्य साहस र सफलताको खुशीयालीमा विसं १८७७ देखि पाल्पामा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन भगवती रथयात्राको आयोजना गरिँदै आएको छ । प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “करीब दुई शताब्दीअघि शुरु गरिएको सो परम्पराले हामी सम्पूर्ण नेपालीलाई पुर्खाको वीरता–गाथाको स्मरण गराउँछ । यस आयोजनाले हामीलाई राष्ट्र, राष्ट्रिय हित र राष्ट्रिय स्वाधीनताप्रति समर्पित हुने प्रेरणा प्राप्त हुँदै आएको छ ।”