अन्तर्राष्ट्रिय

इरानी विदेशमन्त्री अकस्मात सिरियामा

तेहरान । इरानका विदेशमन्त्री मोहम्मद जावाद जरिफ सोमबार सिरिया पुगेका छन् । उनी पूर्व घोषित कार्यक्रम बिना नै सिरियाका बिद्रोहीको कब्जामा रहेको सबैभन्दा ठूलो इदलिबका बारेमा छलफल गर्न सोमबार सिरिया भ्रमणमा गएका इरानको विदेश मन्त्रालयले जनाएको छ ।
इदलिबका बारेमा सिरियाली अधिकारीहरुसँग छलफल गर्न उनी सिरिया पुगेका इरानी विदेश मन्त्रालयका प्रवक्ता बहराम घासेमीले राजधानी तेहरानमा सम्वाददाताहरुसँग बताए।

उनले इदलिबबाट सिरियाले आतङ्ककारीहरुलाई हटाउने विषयमा गरेको कार्यका लागि सिरियाली अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् । इदिलिब सिरिया, टर्की र इरानको सीमा क्षेत्रमा पर्दछ । त्यहाँबाट आतङ्ककारीलाई हटाउन सिरियाले पनि पछिल्लो समयमा ठूलो संख्यामा सरकारी फौज परिचालन गरेको थियो ।
त्यस विषयमा इराकी विदेशमन्त्री जरिफले सिरियाली राष्ट्रपति बसार अल–असदसँग भेटवार्ता गर्नुहुने बताइएको इरानी समाचार समिति आइएसएनएले जनाएको छ ।

उनको यो भ्रमण इरान, रुस र टर्कीका राष्ट्रपतिहरुको त्रिपक्षीय बैठकको पूर्वसन्ध्यामा भएको पनि जनाइएको छ । रुस, इरान र टर्कीका राष्ट्रपतिबीच सिरियाली द्वन्द्वको बारेमा आगामी शुक्रबार इरानको राजधानी तेहरानमा भेटवार्ता हुन लागेको छ । सिरियाले आफ्नो भूमिबाट आतङ्कवादीहरुलाई हटाएको घटनाको इरानले समर्थन गरेको छ । यसअघि इदलिबमा सिरियाली सरकारी फौज परिचालन गरेको घटनाको पनि इरानले समर्थन गरेको थियो ।

इरानी रक्षामन्त्री पनि गत हप्ता सिरियाली शहर दमासकस पुगेका थिए । सिरिया गएको सात वर्षदेखि गृहयुद्धमा छ । उसलाई इरानले आर्थिक र सैन्य सहयोग गर्दै आएको छ ।