कृषि

कृषकलाई बाल्टी उपहार

बुटवल । बुटवल उप–महानगरपालिकाले कृषकलाई बाल्टी वितरण गरेको छ । किसान लक्षित कार्यक्रमअन्तर्गत उपमहानगरपालिका– १४ का ग्रामीण भेगका कृषकलाई बाल्टी उपलब्ध गराइएको हो । सो वडाका भेलभरिया, उजेलापुर, विनायकपुरलगायत टोलका झण्डै १०० किसानलाई उपप्रमुख गुमादेवी आचार्यले बाल्टी हस्तान्तरण गरे । ‘गोठदेखि ओठसम्म सफा दूध’ सङ्कल्पलाई साकार पार्न उहाँले किसानलाई आग्रह गरे। समृद्धिका लागि कृषि र पर्यटनलाई आधार बनाएर सोहीअनुरुप कार्यक्रम चालू आवको बजेटमा समावेश गरिएको आचार्यले बताए ।

सो अवसरमा वडाध्यक्ष दधिराम न्यौपानेले वडाले किसानको दुग्ध उत्पादन क्षमताका आधारमा चरणबद्धरुपमा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । उपमहानगरपालिकाले समृद्ध बुटवल सुखी जनताको सङ्कल्पका साथ समृद्धिका आधार तय गर्दै तिनै आधारलाई साकार पार्न कार्यक्रम बनाएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए । उपमहानगरका १९ वटै वडामा उत्पादनको अवस्था र सम्भावनाबारे अध्ययन गर्दै आवधिक र दीर्घकालीन महत्वका योजना छनोट गरिएको छ ।