राजनीति

दैनिक हिँसाका घटना बढ्नु, बलात्कारीलाई कारबाही गर्न नसक्नु ओली सरकारको कमजोरी होः सभापति देउवा

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताए ।

नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले भर्खरै नेपालमा सम्पन्न उक्त सम्मेलनलाई सफलरूपमा लिनुपर्ने र यसले एक आपसमा सद्भाव बढाउनेमा जोड दिए ।
बिम्स्टेकका कारण सार्कको महत्व नघटेको चर्चागर्दै उनले सार्कको पनि आफ्नै महत्व रहेको बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले संयुक्त सैन्य अभ्यास सहमतिबमोजिम गरिनुपर्ने बताए।

चिकित्सक सङ्घका जायज माग पूरा गर्नुपर्ने बताए उनले मुलुकी संहितालाई जनचाहनानुसार परिवर्तन गर्न सकिने जानकारी दिए, “संविधान होस् या संहिता जनचाहनानुसार सुधार गर्न सकिन्छ । सबै मिलेर सुधार गर्दै जानुपर्छ,” सभापति देउवाले भने ।
प्रेस स्वतन्त्रतामाथि कुनै अङ्कुश लगाउन नहुनेमा जोड दिँदै उनले भने, “प्रेस पूर्णरुपमा स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता हो र हुन्छ पनि ।” सरकारलाई जनभावना बुझेर काम गर्न सुझाव दिएका सभापति देउवाले मुलुकभर महिला हिंसाका घटना बढ्नु, दोषीलाई कारवाही गर्न नसक्नु र कञ्चनपुरमा बालिकामाथि बलात्कारपछिको हत्या घटनाका दोषी पत्ता लगाउन नसक्नु सरकरको कमजोरी हो भने।अवैज्ञानिक ढङ्गले बढाइएका करका कारण जनता सताइएकाले त्यस्ता कर घटाउनुपर्नेमा पनि उनले जोड दिए ।