स्वास्थ्य

मिर्गौलापीडितलाई उपचार सहयोग

म्याग्दी । मङ्गला गाउँपालिका– ५ नेटाका मिर्गौलापीडित सुरेश छन्त्यालको उपचारका लागि आइतबार रु डेढ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।
दुवै मिर्गौलाले काम गर्न छाडेपछि काठमाडौँको शिक्षण अस्पतालमा उपचार गराइरहेका १९ वर्षीय छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सहयोग अभियान शुरु गरेको थियो ।
कोषले सञ्चालन गरेको सुरेश बचाऊ अभियानका लागि आइतबार रु एक लाख ६० हजार सहयोग प्राप्त भएको हो । अर्मनको जनजागरण युवा क्लबको पहलमा सङ्कलन भएको रु एक लाख ५० हजार ३९० क्लबका सचिव विपीन फगामी र सदस्य बाल रोकाले कोषका अध्यक्ष राजेश शाक्य, अभियानका संयोजक डक रोका र सुरेशकी आमा सीतालाई हस्तान्तरण गरिएको थियो ।

यसैगरी अर्मनको गहतेमा रहेको फ्युचर स्टार युवा क्लबले रु पाँच हजार सहयोग गरेको छ । बेनपा– ३ भकिम्ली राखुको ओरेञ्ज युवा क्लबको तर्फबाट क्लबका अध्यक्ष भुवन रोकाले रु पाँच हजार हस्तान्तरण गरेका थिए ।
कोषको डेढ करोडको अक्षय कोष स्थापना अभियानका लागि मङ्गलाघाट आमा समूहको तर्फबाट अध्यक्ष टकसरा राना र तारा छन्त्यालले रु १० हजार उपलब्ध गराएका थिए ।