राजनीति

लोकतन्त्र ल्याउन बलिदानी दिनुहुने, शहीदको योगदानलाई बिर्सन हुँदैनः सभापति देउवा

चितवन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले शहीदले पु¥याएको योगदानलाई देशले कहिल्यै बिर्सन नहुने बताएका छन् । पश्चिम चितवनको शारदानगरमा आईतबार साँझ आयोजित शहीद परिवारलाई सम्मान तथा नेपाल–भारत मैत्री सांस्कृतिक कार्यक्रममा बोल्दै उनले शहीदको सपना पूरा गर्नुपर्ने बताए ।

धर्मोदय युवा क्लब शारदानगरसहित त्यस क्षेत्रका विभिन्न सङ्घसंस्थाले संयुक्तरुपमा आयोजना गरेको सो कार्यक्रममा देउवाले शहीदको रगतले देशमा ऊर्जा प्राप्त हुनुपर्ने भन्दै उनीहरुकै बलिदानले यो उपलब्धि प्राप्त भएको बताए । देशको यो उपलब्धिलाई संरक्षण गर्न सके मात्र शहीदका सपना पूरा हुने उनको भनाइ थियो । देउवाले देशमा संसदीय बहुदलीय व्यवस्था प्राप्त हुनुमा शहीदकै योगदान रहेको बताए ।

शहीदहरुले दिएको योगदानलाई आफ्नो पार्टीले कहिल्यै नबिर्सने बताउँदै उनले भने, “काङ्ग्रेस र देशले नै उहाँहरुले दिएको योगदानलाई कहिल्यै बिर्सनेछैन । उहाँहरुको सन्तानलाई पार्टीले सधैँ सहयोग गर्नेछ ।”

सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले नेपाल र भारतको सम्बन्ध पुरानो रहेको भन्दै आगामी दिनमा अरू प्रगाढ बन्दै जाने बताए । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँडले शान्ति र समृद्धि प्राप्ति गर्न सके मात्र शहीदहरुप्रति श्रद्धा हुने बताए ।

विसं २००७ देखि २०४६ सालसम्म शहादत प्राप्त गरेका शहीद परिवारलाई नेपाली काङ्ग्रेसका सभापति देउवा र भारतीय राजदूत पुरीले सम्मान गरेका थिए । विसं २००७ साल चितवनको पहिलो शहीद बनेका धर्मध्वज गुरुङ, २०१८ सालमा शहादत प्राप्त गर्ने इमानसिंह गुरुङ, लालध्वज गुरुङ, बुद्धसिंह लामा, हरिबहादुर गुरुङ, शेरबहादुर गुरुङ, खेमबहादुर गुरुङका र २०४६ सालमा शहादत प्राप्त गणेश पौडेलको परिवारलाई सम्मान गरिएको थियो ।