अन्तर्राष्ट्रिय

लिबियामा जारी हिंसाप्रति राष्ट्रसङ्घ चिन्तित

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले युद्धबिराम सम्झौता अनुरुप लिबियामा जारी हिंसा अन्त्य गर्न सबै सम्बद्ध पक्षसमक्ष आग्रह गरेका छन् । लिबियाको स्वास्थ्य मन्त्रालयका अनुसार पाँच दिनभित्रै परस्पर लडाकू समूहबीचको हिंसात्मक झडपबाट ३९ जनाको मृत्यु भएको र करिब १०० जनाको मृत्यु भएको छ । यो झडप राजधानी सहर त्रिपोलीको दक्षिणी इलाकामा सोमबार भड्किएको थियो ।

“महासचिवले लिबियाको राजधानी सहरका बाहिरी इलाकाहरुमा फैलिएको हिंसाको निन्दा गरेका छन् । हतियारधारीले जथाभावी गोली चलाउँदा आम सर्वसाधारणको मृत्यु र घाइते भएको खबर छ । हिंसाबाट बालबालिकाहरु समेत प्रताडित भएका छन्,” गुटेरेसको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । महासचिव गुटेरेसले हिंसात्मक घटनालाई तत्काल रोक्न र संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धबिराम सम्झौताको पालना गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।

बेलायत, फ्रान्स, इटाली र संयुक्तराज्य अमेरिकाका तर्फबाट जारी संयुक्त वक्तव्यमा त्रिपोली वा लिबियाका कुनै पनि भागमा हुने हिंसात्मक घटनाका दोषीमाथि कारबाही हुने चेतावनी दिइएको छ । सन् २०११ मा पूर्वनेता मोउमार कद्दाफी सत्ताच्यूत भएपछि त्रिपोलीमाथि प्रभाव जमाउन विभिन्न सशस्त्र समूह सक्रिय छन् ।