कृषि

धान र मकै बालीमा विभिन्न रोग देखा

तुलसीपुर । धान र मकै बालीमा विभिन्न रोग देखापरेको छ । धानमा गबारो, ब्लास्ट, खैरारोग र मकैमा डाँठ कुहिने रोग देखापरेपछि किसान चिन्तित भएका छन् । धानमा रोग देखापरेपछि किसान उत्पादन घट्ने चिन्तामा छन् । ‘‘गबारो रोगले धान बाली सखाप पार्न थाल्यो,’’ तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीका राजन चौधरीले भने । धान बालीमा रोग देखिएपछि किसान कृषि सेवा केन्द्र धाउन थालेका छन् । “दिनहुँ किसान धानको बोट बोकेर आउन थालेका छन्,” तुलसीपुरस्थित एग्रो नेपाल प्रालिका प्राविधिक माधव केसीले भने ।

जिल्लाका बाघमारे, शान्तिनगर, पवननगर, हलवार, मानपुर, टरिगाउँ, डुरुवा र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा धान बालीमा गबारो रोग देखिएको छ । ‘‘डाँठ कुहिने रोगले मकैसमेत सखाप भयो,’’ तुलसीपुर–२ का प्रकाश खड्काले भने । उनको सात कट्ठा जग्गामा लगाएको मकै सो रोगले नष्ट भएको छ ।

अधिकांश किसानको खेतमा धान बालीमा गबारो र ब्लास्ट रोग देखापरेको तुलसीपुर उपमहानगरपालिका कृषि सेवा केन्द्रका प्रमुख तिलकबहादुर केसीले बताए । “कतैकतै खैरो रोगसमेत लागेको गुनासो आएको छ,” उनले भने । रोगको प्रकृति हेरेर औषधि प्रयोग गर्न सुझाव दिएको उनले बताए । धेरैजसो हाइब्रिड जातको धानमा सो रोग देखापरेको छ ।

धान बालीमा लागेको रोग समयमै उपचार गरे हटेपनि मकै बाली जोगाउन मुश्किल भएको छ । माटोमा अम्लियपना बढेपछि मकै बालीमा डाँठ कुहिने रोग देखापर्छ । समाधानका लागि बाली लगाउनुपूर्व माटोको उपचार गर्नुपर्ने प्राविधिकले सुझाव दिएका छन् । धान बालीमा ब्लास्ट रोगका लागि ‘हेक्जाकोनाजोल’ तथा नेटिभो वाण र गबारोका लागि ‘कोलेरो पाइरिफस्ट’ वा साइपरमेथ्रिन साँझ वा बिहान प्रयोग गर्न प्राविधिकले किसानलाई सल्लाह दिएका छन् । जिल्लामा करीब २३ हजार हेक्टरमा मकै बाली र ३६ हजार हेक्टरमा धान खेती गरिएको छ ।