प्रदेश 1

पूर्वसांसद कार्कीलाई आर्थिक सहयोग

गाईघाट, उदयपुर । गत आम निर्वाचनमा उदयपुर जिल्लाको उदयपुरगढी दनुवारबेँशीमा एम्बुसमा परेर खुट्टा गुमाएका उदयपुरका पूर्वसांसद नारायणबहादुर कार्की र विद्यार्थी नेत्री मीरा कटुवाललाई त्रियुगा नगरपालिका गाईघाटले आर्थिक सहयोग गरेको छ ।

नगरपालिकाका अनुसार पूर्वसांसद कार्कीलाई रु चार लाख र विद्यार्थी नेत्री कटुवाललाई रु एक लाख आर्थिक सहयोग गरिएको हो । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले जिल्लाका पूर्व सांसद कार्की र नेविसङ्घकी विद्यार्थी नेत्री मीरा कटुवाल निर्वाचनको समयमा एम्बुसमा परी दुवैले खुट्टा गुमाउनुपरेको कारण उनलाई नगरपालिकाले आर्थिक सहयोग गरेको बताए।

कार्की र कटुवाल निर्वाचनको कार्यक्रममा कटारीबाट जिल्लाको पञ्चावती आउने क्रममा दनुवारबेँशी भन्ने स्थानमा एम्बुसमा पर्दा सख्त घाइत भएका थिए । राजधानी काठमाडौँको शिक्षण अस्पतालमा उपचारका क्रममा कार्की र कटुवालको एक–एक खुट्टा काट्नु परेको थियो । पूर्वसांसद कार्कीलाई कटारी नगरपालिकाले पनि यसअघि नै रु तीन लाख आर्थिक सहयोग गरिसकेको छ भने कटुवाललाई पनि रु एक लाख सहयोग गरेको कटारी नगरपालिकाले जनाएको छ ।

महासङ्घद्धारा तीज आयोजना

घरेलु तथा साना उद्योग महासङ्घ उदयपुर र सङ्घमा आवद्ध महिला उद्यमीको आयोजनामा शनिबार उदयपुर जिल्लाको गाईघाटस्थित ढिम्कीको पिकनिक स्पोर्टस्मा महिलाको चाड हरितालिका तीज पर्वको अवसरमा दर खाने कार्यक्रमको आयोजना गरिएको छ ।

महिलाको चाड तीजको संरक्षण गर्न र यसलाई मितव्ययी ढङ्गले आफ्नै संस्कृतिक संस्कारबाट मनाएर जीवित राख्न तीज पर्वको आयोजना गरिएको आयोजकका एक सदस्य तथा महिला उद्यमी सिर्जना पौडेलले बताए।