राजनीति

दिल्लीबाट पक्राउ दावा लामालाई तत्काल रिहाइ नगरे सरकारविरुद्ध उत्रने तरुण दलको चेतावनी

काठमाडौं । नेपाल तरुण दलले दावा लामालाई तत्काल रिहाइको माग गरेको छ । एक विज्ञप्ती जारी गर्दै तरुण दलले दुवइबाट नेपाल आउने क्रममा शनिबार भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ परेका लामालाई तत्काल विना शर्त रिहाइ गर्न सरकारसँग माग गरेको हो ।

तरुण दलले लामालाई रिहाइ नगरे सरकारविरुद्ध उत्रने चेतावनी समेत दिएको छ ।

सरकारले गरेको यो धरकपडले तरुणदलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तरुण दलले नेपाल तरुण दल काभ्रेका अध्यक्ष जितेन्द्र तामाङ उर्फ दावा लामामाथिको हमलालाई एक लोकतन्त्रवादी तरुणमाथि भएको हमलाको संज्ञा दिएको छ । सरकारले लामामाथि अनायासै धरकपड गरेको तरुण दलको आरोप छ । पक्राउ परेका लामाले आफू पक्राउ परेको तस्बीरसहित जानकारी दिएको तरुण दलले जनाएको छ ।

उनीमाथि सिक्किममा बसेर जुवा खेलाउने गरेको आरोप लागेको छ ।

अहिले कोलकत्ता प्रहरीको कब्जामा रहेको लामा पटपटक जेल पर्दै छुट्दैँ आएका छन् । २०७३ चैत २९ गते राजधानीको गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’मा लामामाथि गोली प्रहार भएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले अनलाइन जुवा खेलाएको अभियोग लागेका लामालाई लामो समयदेखि खोजतलास गरिरहेको थियो ।