समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट आयो खुसीको खबर

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल आजदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा आएको हो ।

सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । विमानस्थलको आन्तरिक टर्मिनल सञ्चालन व्यवस्थापनका लागि बिहान ५ बजेदेखि शुरु गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

यसअघि बिहान ६ बजे खुलेर ६.४५ देखि ७ बजेपछि मात्र आन्तरिक उडान हुने गरेको थियो । अब भने बिहान ठीक ६ बजे विमान उडिसक्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

नजिकिएको चार्डपव, पर्यटकीय मौसम तथा विमानस्थलको चापलाई समेत मध्यनजर गरी विमानस्थलले विमान ५ बजे नै सेवा शुरु गरेको हो । सबैरै विमानस्थल खुलेपछि अन्तर्राष्ट्रिय उडान पनि केही समयअघि ल्याउने गरी विमानस्थले व्यवस्थापन गर्न लागेको महाप्रबन्धक क्षेत्रीले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय विमानमध्ये बिहान पहिलो अवतरण (६ः४५ बजे) गर्ने टर्किज एवरवेजको अवतरणको समय २० मिनेट अगावै हुने भएको छ ।

आजदेखि विमानस्थलको टावर बिहान ५ः४० बजे नै खुल्नेछ । यसअघि ६ बजे खुल्ने गरेको थियो । यसअघि विमनस्थल जाडो याममा बिहान ६ः३० र गर्मी याममा बिहान ६ बजे खुल्ने गरेको थियो ।

विमानस्थलले थपेको समय राति १२ः३० देखि ३ बजेको समयमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान भर्ने गरेका छन् । अन्य अन्तर्राष्ट्रिय एयरलाइन्ससँग पनि छलफल भइरहेको बताइएको छ ।

यसैबीच कतार एयरले आजदेखि एक उडान थपेको छ । दोहा–काठमाडौँमा दैनिक पाँच वटा उडान भर्दै ओएको कम्पनीले आगामी २७ अक्टोबरसम्म विहान १ बजे आउने र २ बजे फकर्ने विमानस्थलले जनाएको छ । हाल अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रियमा ३० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।