राजनीति

कांग्रेस सहमहामन्त्री डा. महतले भनेः नेपालमा रेल ल्याउने योजना राम्रो योजना हो

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले शुक्रबार सम्पन्न प्राविधिक तथा आर्थिक विकासका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) निष्प्रभावी बनेको बताएका छन् । शनिबार रिर्पोटर्स क्लबको साक्षात्कारमा बोल्दैँ नेता महतले यस्तो बताएका हुन् ।

सम्मेलनको जति धेरैँ चर्चा परिचर्चा भएपनि त्यसबाट नेपालले फाइदा लिन नसकेको बताए । नेपाल सरकारले यो सम्मेलनबाट कसरी फाइदा लिने भन्ने भन्दापनि कसरी यसलाई सम्पन्न गराउने भन्न तर्फ ध्यान दिएका कारण सम्मेलनबाट नेपालले सोचेको जस्तो उपलब्धी लिन नसकेको नेता महतको तर्क रहेको छ ।

व्यापार, पर्यटन, पारवाहन लगायत क्षेत्रमा विम्स्टेक राष्ट्रहरुले ध्यान दिनुपर्नेमा नेता महतको जोड थियो । नेता महतले बिम्स्टेक राष्ट्रहरुबीच रेलवे र सडकसञ्जालले जोड्न सकिए नेपालको पर्यटन विकासले गति लिने बताए । “म्यानमार–थाइल्याण्ड जोड्ने रेलवे र सडकमार्ग बन्ने हो भने बौद्ध धर्मावलम्वीहरुलाई लुम्बिनी ल्याउन सकिन्छ ।, नेता महतले भने, पर्यटनसँग सम्बन्धित अरु धेरै कार्यक्रम गर्न सकिन्छ ।”

नेपालमा रेल ल्याउने योजना राम्रो भएको बताउदैँ उनले यसका लागि नेपालले आन्तरिक लगानि गर्न नसक्ने बताए । उनले भारत वा चीन जहाँबाट रेलमार्ग बनाएपनि त्यही देशले बनाइदिनुपर्ने अवस्था रहेको उनले बताए ।

यस्तै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका महतले वर्तमान सरकारले स्पष्ट परराष्ट्र नीति अवलम्बन गर्न नसकेको आरोप लगाएका छन् । “सत्तारुढ दल नेकपा सरकारबाहिर हुँदा एकथरी र सरकारमा हुँदा अर्कोथरी कुरा गर्छ ।,उनले भने, यसरी परराष्ट्र नीति राम्रो हुँदैन ।”

सरकारले नेपालको सुरक्षा व्यवस्था सक्षम छ भन्ने सन्देश प्रवाह गरी अन्तर्राष्ट्रिय समुदायमा विश्वास दिलाउन नसकेको उनको भनाइ थियो ।