सुदूरपश्चिम

नदीले जग्गा बगाउन थालेपछि…

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११को बनहरा नदी तटीय क्षेत्रमा बस्दै आएका एक दर्जन सुकुम्वासी परिवार विस्थापन हुनुपर्ने स्थितिमा पुगेका छन् ।

उक्त नदीले बस्दै आएको जग्गा बगाउन थालेपछि सुकुम्वासी परिवार विचल्लीमा परेका हुन् । नदीले बस्दै आएको जग्गा कटान गरी गहिरो खोला बनाएको र सडकबाट झरेको पानीले समेत जग्गा कटान गर्न थालेको गुनासो गर्दै स्थानीयवासी मानध्वज लुहारले भने, “पहाडी क्षेत्रमा केही नहुँदा तराई झरेका थियौँ अहिले बस्दै आएको जग्गासमेत बाढीले कटान गरी बगाउन थालेपछि कुन ठाउँमा जाने भन्ने चिन्ता बढ्न थालेको छ ।”

नदीले धमाधम जग्गा कटान गरी बगाउन थालेपछि जीउ जोगाउनका लागि सुरक्षित स्थानको खोजीमा लाग्नुपरेको पीडित कलावती लुहारले बताए । तीन परिवार बस्दै आएको झोपडी नदीले बगाउने अवस्थामा पु¥याएकाले उनीहरु छिमेकीको झोपडीमा सरेका छन् ।

नदीमा बाढी आए झोपडी बगाउने डरले बस्दै आएको ठाउँ छाडेर वर्षाको पानीमा भिज्दै बालबालिकासहित अनिँदोमै सडकमै रात बिताउनु पर्ने अवस्था रहेको अर्का पीडित माघी रावतले उल्लेख गरे ।

डेढ दशक अघिदेखि अस्थायी रुपमा श्रीकृष्ण सामुदायिक वन छेउ १२ परिवार सुकुम्वासी बस्दै आएका छन् । नदीले जग्गा बगाउन थालेपछि सुरक्षित स्थानमा सारीदिन माग गर्दै वडा र नगरपालिका कार्यालयमा निवेदन दिए पनि सुनुवाइ हुन नसकेको उनीहरूको भनाइ छ ।