पर्यटन/संस्कृति

नेवारी समुदायमा नाचिने परम्परागत लाखे नाच

बुटवल । नेवारी समुदायमा नाचिने परम्परागत लाखे नाच संस्कृतिको संरक्षण र प्रचार प्रसारका लागि गुल्मीका नेवार समुदाय जुटेका छन् ।

गुल्मीको मुसिकोट नगरपालीका नेवाः बरजु पुचः वामी टक्सारले तम्घास, तानसेन र बुटवलमा यसको संरक्षण र प्रचार प्रसार गर्न प्रदर्शन गरेको छ । नेवार समुदायले आफ्नो धार्मिक एवं साँस्कृतिक कार्यक्रमका रुपमा देखाउने लाखे नाच देशका विभिन्न भागमा लोकप्रिय छ । कृष्ण शुक्ल पक्षको नागपञ्चमीदेखि कृष्ण जन्मअष्टमीसम्म लाखे नाच दिनहुँ देखाइन्छ ।

जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच शुरु गराएको इतिहासकार बताउँछन् । काठमाडौँमा १८औँ शताब्दीमा राजा जयप्रकाश मल्लले छोराको मृत्युमा भावविह्वल बनेकी रानीलाई सान्त्वना दिन प्रचलनमा ल्याएको गाईजात्राकै एउटा स्वरुपका रुपमा लाखे नाच रहेको संस्कृविविद् डा गितु गिरी बताउँछन् ।

उनले यो नाचलाई स्थान विशेषका रुपमा फरक फरक शैलीमा प्रस्तुत गर्ने गरिए पनि साँस्कृतिकरुपले यो नेवारी समुदायको पर्वका रुपमा रहेको बताउँछन् । लाखे नाचका बेला कंशको प्रतीकका रूपमा डरलाग्दो राक्षसी रूप गरेको लाखे र अन्य मुकुण्डोधारी उसका सहयोगी सामूहिकरुपमा नेवारी बाजाका तालमा नाच्ने गर्दछन् । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल, सामाजिक विकासमन्त्री सुदर्शन बरालसहित प्रदेशसभा सदस्यहरुले गुल्मीको परम्परागत लाखे नाच बिहीबार साझ अवलोकन गरे ।

विभिन्न ठाउँमा प्रदर्शन गरिएको लाखे नाच प्रदर्शनबाट रु तीन लाख सङ्कलन भएको र खर्च कटाएर बचेको रकमबाट नेवाः बरजु पुचः अर्थात् समाजको भवन निर्माणमा लगाइने अध्यक्ष मोहनलाल श्रेष्ठले बताए। अध्यक्ष श्रेष्ठले नेवा पुचको भवन निर्माणका लागि रकम सङ्कलन गर्ने उद्देश्यले लाखे नाच बुटवललगायत विभिन्न स्थानमा प्रदर्शन गरिएको बताए ।