कर्णाली प्रदेश

बाढीपीडित बस्तीमा श्रम दिवस

सुर्खेत । कर्णाली प्रदेश सरकारले विसं २०७१ का बाढीपीडित बस्तीमा पुगेर आज श्रम दिवस मनाएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी वीरेन्द्रनगर नगरपालिका–६ स्थित बाढीपीडित बस्तीमा तारजाली भर्न आफैँ गएका थिए ।

जोखिमयुक्त बस्तीमा धनजनको क्षति नहोस् भनेर सरकारले आज बाढीपीडित बस्ती छेउको खोर्के खोलामा काम गरेर श्रम दिन मनाएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । जनतालाई सरकारनजिक छ भन्ने अनुभूति गराउन र उनीहरु स्वयंलाई पनि यो कामप्रति हाम्रो दायित्व छ भन्ने बनाउन सरकारले महिनामा दुई दिन श्रम दिवस मनाउँदै आएको र यो निरन्तर अघि बढ्ने उनले बताए ।

सरकारका आन्तरिक तथा कानूनमन्त्री नरेश भण्डारीले प्राकृतिक विपत्बाट हुने जोखिमलाई कम गर्न प्रदेश सरकारले पूर्वसावधानीका साथ काम गरेको बताए । “समाजमा आइपर्ने प्राकृतिक तथा मानवीय विपत्प्रति सरकार संवेदनशील छ,” उनले भने, “श्रम दिवसले यो प्रदेशका जनतालाई नै जिम्मेवार बनाउँदै लैजाने प्रयास गरेको छ ।”

यता सामाजिक विकासमन्त्री दल रावलले नगरपालिका–६ स्थित बाढीपीडित बस्तीको सरस्वती टोलका बालबालिकालाई ध्यानमा राखेर बालविकास केन्द्र स्थापनाका लागि रु पाँच लाख सहयोग गरिएको बताए । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले प्राकृतिक विपत्ति र विभिन्न समस्याबाट प्रभावित जनतालाई लक्षित गरी गरीबमैत्री कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताए ।