समाचार

१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै चौथो बिमस्टेक सम्मेलन सम्पन्न, नेपालका लागि खुल्यो यस्तो बाटो !

काठमाडौं । १८ बुँदे बिमस्टेक घोषणापत्र जारी गर्दै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिकसहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन राजधानीको एक होटलमा सम्पन्न भएको छ । बिहिबार सुरु भएको सम्मेलन व्यापार, लगानी र उर्जा सहकार्य विस्तार लगायतका १८ बुदाँ समेटिएको काठमाडौँ घोषणापत्र जारी गर्दै सकिएको हो ।

सम्मेलनबाट सदस्यराष्ट्रहरुसँग विद्युत खरिद र ब्रिकीका लागि नेपाललाई बाटो खुलेको छ । यसअघि नेपालले भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता समेत गरिएको थियो अब नेपालले थाइल्यान्ड लगायत अन्य सदस्य राष्ट्रसँग उर्जा खरिद बिक्री सम्झौता भएको छ ।

अब नेपालले नेपालमा उत्पादित विद्युत थाइल्याण्डसम्म बेच्न पाउने छ भने थाइल्याण्डसँगै भुटान म्यानमारसँगसमेत विद्युत खरिद गर्न पाउने छ । साथै, यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै सदस्य राष्ट्रको साझा प्रयास र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रमा समृद्धि सम्भव हुने बताए ।

उनले नेपालले सङ्गठनको अध्यक्षता गरेका बेला सदस्य राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखबाट निरन्तर प्राप्त सहयोगप्रति आभार प्रकट गरे । प्रधानमन्त्रीले सम्मेलनबाट पारित १८ बुँदे घोषणापत्रको प्रभावकारी कार्यान्वयनमा सबैबाट सक्रिय सहयोग, साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे ।

सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण निर्वाह गरेका बिम्स्टेकका महासचिव, सदस्य देशका सम्बद्ध निकायका पदाधिकारी, नेपालका सुरक्षाकर्मी, सञ्चारकर्मी, विद्वत्वर्गलगायत सबैमा उनले कृतज्ञता व्यक्त गरे । नेपालले सार्क र बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनका शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेर अन्तर्राष्ट्रिय समुदायमा कूटनीतिक क्षमता प्रदर्शन गरेको छ ।