कर्णाली प्रदेश

आमाले रोकिन बालविवाह

जाजरकोट । स्थानीय जनप्रतिनिधि र बाल सञ्जालको सक्रियतामा एउटी महिलाले छोरीको बालविवाह रोकाएकी छिन् । शेराखहरे कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छेडागाड नगरपालिका–९ की १६ वर्षीया राधिका रोकायले कोहलपुर नगरपालिका–८ झरकट्टी निवासी १८ वर्षीय प्रेम बुढासँग भागेर कोहलपुरमा विवाह गरेका थिए ।

छोरीले यही भदौ १२ गते बालविवाह गरेको भन्दै रोकिदिन आमा कल्पना रोकायले सोही वडाका वडाध्यक्ष गोपाल नेपालीसमक्ष निवेदन दिएपछि सरोकारवाला निकायको सक्रियतामा बालविवाह रोकाइएको हो । घरायसी सामान खरिदका लागि थलह बजार पुगेकी राधिका रोकाय कोहलपुरका प्रेम बुढासँग भागेर विवाह गरेकी हुन् ।

निवेदन दिएलगत्तै वडाध्यक्ष गोपाल नेपाली, वडा बाल संरक्षण समिति, प्रहरीको सक्रियतामा सो विवाह रद्द गराइ आफन्तको जिम्मा लगाइएको थियो । विवाहित राधिकाले पनि गल्ती गरेको भन्दै बालविवाह रोक्ने अभियानमा आफू पनि लाग्ने बताइन् । यसअघि जिल्लामा एक दर्जन यस्तै खालका बालविवाह रोकिएका थिए ।
कानूनले दण्डनीय मानेको बालविवाह गर्ने र गराउनेलाई कुनै पनि हालतमा कानूनको दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताए । हालै मात्र भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र उक्त संहिता विपरीत भएको विवाह स्वतः बदर र कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना तोकिएको छ ।

उक्त नगरपालिकाको ०७४ भदौ ५ को निर्णयअनुसार उक्त वडालाई बालविवाह मुक्त वडा घोषणाका लागि विभिन्न पहल भइरहेको छ । यसै क्षेत्रमा बाल संरक्षण तथा बालविवाह न्यूनीकरणका लागि सेभ द चिल्ड्र्न र पाँचतारा युवा संरक्षक मञ्चले पनि एकीकृत परियोजनामार्फत लामो समयदेखि काम गर्दै आएका छन् ।
केही समयअघि मात्र त्यहाँको अभिभावक, बालबालिका, सरोकारवाला निकायले बालविवाह नगर्न र नगराउन सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिए ।