अन्तर्राष्ट्रिय

इराकमा आत्मघाती आक्रमण

बग्दाद । तेलको धनी प्रान्तको रुपमा रहेको उत्तरी इराकको किर्कुकमा आत्मघाती आक्रमण भएको छ । यस आक्रमणमा परी दुई प्रहरी अधिकारीको मृत्यु भएको प्रान्तीय एक सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

किर्कुकको ग्रामीण इलाका हवीजाह क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ बोकेर विस्फोटन गराएका थिए ।

उक्त स्थान किर्कुक प्रान्तको प्रान्तीय शहर नामेकाकेबाट ५० किलोमिटर दक्षिणपश्चिममा रहेको छ । हवीजाह प्रहरीका प्रवक्ता मोस्ताफा अब्दुल राजाक आक्रमण र हताहतको पुष्टी गरेका छन् ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर यसअघि सुरक्षा अधिकारी, सर्वसाधारणको जम्मा हुने स्थल क्याफे, मस्जिद, बजार इलाकालाई लक्ष्यगरी बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टट्ेस (आइएस) ले आक्रमण गराएको हुनसक्ने सुरक्षा अधिकारीको दाबी गरेका छन् ।

इराकी सुरक्षा बलले आइएस आतङ्ककारी विरुद्ध पश्चिम किर्कुकको हवीजाह क्षेत्र, मोसुल र सलाहुदिन प्रान्तमा कारबाही जारी राखेपछि बर्षौदेखि आफ्नो बलियो पकड रहेको यस इलाकाबाट गएको केही महिनायता दर्जनौ आइएस आतङ्ककारी त्यहाँबाट भाग्न बाध्य भएका थिए ।

अतिवादी समूहले एक पटक कब्जा लिएको सबै इलाका इराकी सुरक्षाबलले पुनः कब्जा लिएपछि सन् २०१७ को डिसेम्बरमा इराकी सरकारी अधिकारीले इराक आइएस आतङ्ककारीकबाट मुक्त भएको दाबी गरेको थियो ।

यद्यपी हाल पनि नगर र ग्रामीण इलाकामा आइएस आतङ्ककारीको उपस्थिति रहेको र उनीहरुका आफूहरुलाई पुनः समूह बनाउँदै आक्रमण गर्दै आएका छन् ।