अन्तर्राष्ट्रिय

केन्याली गैंडा स्थानान्तरण अभियानमा कालो बादल, ११ गैंडा मारिए

नैरोबी । लोपोन्मुख गैंडा बचाऊसम्बन्धी केन्याको एउटा अभियानको असफलताले विश्वभरका वन्यजन्तु संरक्षणकर्मीहरु भयभीत र चकित भएका छन् ।

केन्याका ११ वटा महत्वपूर्ण काला प्रजातिका गैंडालाई नयाँ स्थानमा स्थानान्तरण गरिएको थियो । यो अभियान गैंडा संरक्षणमा कोशेढुङ्गा हुने अपेक्षा गरिएको थियो ।

तर यी गैंडा एकाएक कसरी मरे ?

गैंडाको मृत्युको मुख्य कारण नै नयाँ बासस्थानको पानीमा नुनको मात्रा बढी भएर विषाक्त अवस्था सिर्जना भएको आधिकारिक प्रतिवेदनमा उल्लेख छ । तर एएफपीको अनुसन्धानमा समस्याबारे सबै जानकार रहेका र जायज सरोकारलाई बेवास्ता गरिएको छ ।

विज्ञहरुले उक्त नयाँ बासस्थान गैंडाका लागि उपयुक्त नरहेको भन्दै पटकपटक चेतावनी पनि दिएका थिए । तैपनि गैंडा स्थानान्तरण परियोजना अगाडि बढाइयो – र अहिले सरकारी अधिकारीहरु एकअर्कामाथि दोष थोपरिरहेका छन् ।

गैंडा स्थानान्तरण परियोजना केन्याका पर्यटन तथा वन्यजन्तु मन्त्री नजिब बलालाले जुन महिनामा ठूलै कार्यक्रमबीच शुभारम्भ गरेका थिए। यस परियोजनाका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले करिब १० लाख अमेरिकी डलर उपलब्ध गराएको थियो ।

३द(बिग(मुभ नाम दिइएको यो अभियानले गैंडाको चोरी शिकारीबाट गैंडाको संरक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको थियो । प्रकृति संरक्षण युनियन (आइयूसिएएन) ले काला गैंडालाई अति सङ्कटापन्न जीवको सूचीमा सूचीकृत गरेको छ । तत्काल संरक्षणको कुनै विशिष्ट अभियान सञ्चालन नगरिए यी गैंडा विश्वबाट लोप हुने खतरामा पुगेको युनियनको भनाई छ ।

नैरोबी र नाकुरुका निकुञ्जबाट यी गैंडालाई चाभो इस्ट नामको नयाँ बासस्थानमा पठाइएको लगिएको थियो । केन्या वन्यजन्तु सेवा (केडब्लुएस) र डब्लुडब्लुएफले यी गैंडाको बासस्थान निर्माणका लागि छ वर्ष बिताएका थिए ।

नयाँ बासस्थानमा गैंडालाई जमिनबाट पम्प गरेको पानी खुवाउने प्रबन्ध गरियो । यो पानी ज्यादै नुनीलो थियो । यस बासस्थानमा रहेका अरु जीवजन्तु पम्प गरिएको पानीको छेउमा समेत आउँदैनथे, केन्याली पशुचिकित्सक युनियनका अध्यक्ष डा बेन्सन किबोरले बताए ।

लवणयुक्त पानीले जीवजन्तुलाई तिर्खा मात्र लगाउँथ्यो, र अरु बढी पानी खानुपथ्र्यो, र यसबाट रगत बाक्लो हुने तथा रक्तप्रवाहको गतिलाई सुस्त बनाउँथ्यो । किबोरले भने, जीवजन्तुको शरीरको “सुख्खापन” उच्चस्तरमा पुगेको थियो ।

बोल्ट नाम दिइएको गैंडा सबैभन्दा पहिले मरेको थियो र त्यसपछि अरु गैंडा एकपछि अर्को गर्दै मरे । अन्तिम गैंडा ज्याक यति कमजोर भइसकेको थियो कि सिंहले आक्रमण गर्दा आफूलाई जोगाउन नसक्ने अवस्थामा पुगेको थियो । सिंहको आक्रमण झेलेको ज्याक अर्को दिन मरेको थियो ।

“म अति चिन्तित भएको थिएँ । यी गैंडा धेरै ठूलो समस्या छन् भन्नेमा मलाई शङ्कै थिएन,” केडब्लुएसका पूर्व अध्यक्ष एवं वरिष्ट संरक्षणकर्मी नेहेमिया रोटिचले बताए ।

रोटिच र परियोजनाका केही पूर्व सदस्यहरुले आफूहरुले नयाँ बासस्थानको पानीको अम्लियपना र खानाको अभावका कारण गैंडा स्थानान्तरण कार्यक्रमलाई धेरैपटक स्थगित गरेको बताए । “छनौट गरिएको ठाउँ नै राम्रो थिएन,” रोटिचले एएफपीलाई बताए । उनले त्यस ठाउँको दुईपटक भ्रमण समेत गरेका थिए । सुख्खा र नदीबाट निकै टाढा रहेको नयाँ बासस्थानमा पानीको व्यवस्था गर्न पम्प जडान गरिएको थियो ।

गैंडा स्थानान्तरण कार्यक्रम आयोजना गरिएको बारे केडब्लुएस बोर्डलाई दुई दिन अघि मात्र सूचना दिइएको थियो । यही सूचनामा स्थानान्तरणको अगुवाई डब्लुडब्लुएफले गर्ने जानकारी गराइयो ।

“हामीले भन्यौ – यो सम्भव छैन,” उनले त्यसबखतको संवाद सुनाए । तर, दबाब निरन्तर दिइयो ।
बोर्ड सदस्य हिथ र रोटिच दुबैले स्थानान्तरणका लागि डब्लुडब्लुएफले जबर्जस्ती गरेको आरोप लगाए । अक्टोबर २०१७ मा बोर्डले स्थानान्तरणका लागि शर्तसहितको स्वीकृति प्रदान गरेको थियो जसमा नयाँ बासस्थान सुरक्षित हुनुपर्ने शर्त राखिएको थियो ।

बोर्डको म्यान्डेट अप्रिल २०१८ मा सकिएको थियो । त्यस समयसम्म पनि व्यवस्थापनलाई गैंडा स्थानान्तरण गर्ने सङ्केत गरिएको थिएन । तैपनि, यो कार्यक्रम तीन महिना ढिला सुरु गरियो र नयाँ बोर्ड गठन भएकै थिएन ।

स्थानान्तरण सम्बन्धी बिबाद मे २०१७ को बैठकमा जोडदार रुपमा उठेको थियो । यस बैठकमा केडब्लुएसका अधिकारीहरु र डब्लुडब्लुएफका मुख्य गैंडा विज्ञ मार्टिन मुलामा सहभागी थिए । बैठकमा दुईवटा माइन्यूट पनि लेखिएका थिए ।

पहिलो माइन्यूटमा गैंडासम्बन्धी कुनै सरोकार व्यक्त गरिएको छैन, तर दोस्रो माइन्यूटमा “स्थानान्तरण गर्न कुनैपनि हालतमा सम्भव नरहेको” भन्दै चेतावनी दिइएको छ ।

केडब्लुएसले यसै वर्ष १५ पटक गरेको पानीको परीक्षणमा स्वीकृत स्तरभन्दा तीनगुणा बढी पानी नुनीलो रहेको देखिएको थियो । किबोरका अनुसार, यी महत्वपूर्ण सूचकहरु पहिलो गैंडा बिरामी हुँदासमेत पशुचिकित्सकलाई हेर्न पनि दिइएन । परिणामस्वरुप, पशुचिकित्सकहरुले अरु नै कारणहरु, जस्तै सर्पको डसाई, को खोजी गर्न समय बिताए ।

केडब्लुएसका पूर्व बोर्ड सदस्यहरुले मन्त्री बलालाले जबर्जस्ती गैंडा स्थानान्तरण गर्न लगाएको आरोप लगाएका छन् । केही सदस्यहरुले उनको राजीनामा समेत मागेका छन् । तर मन्त्री बलालाले आफूले कुनै गल्ती नगरेको भन्दै प्रतिबाद गरेका छन् । उनको आरोप छ, गैंडा स्थानान्तरणका लागि ठाउँ उपयुक्त नभएको भए पहिल्यै मलाई किन जानकारी थिइएन ?

केन्याली संरक्षणकर्मी पाउला काहुम्बुको भनाई छ, “राष्ट्रिय निकुञ्जभित्रैबाट रेलमार्ग निर्माण गर्ने र वनक्षेत्र अतिक्रमण गरी अरु पूर्वाधार निर्माणका कार्यहरु गर्नेतर्फ सरकार लागिपरेकाले यो केन्याका लागि अन्धकार युग हो ।”