गण्डकी प्रदेश

आमाको स्मृतिमा उपकरण सहयोग

बेनी । यहाँको एक परिवारले जिल्ला अस्पताललाई उपकरण सहयोग गरेको छ । रघुगङ्गा गाउँपालिका–२ तल्लाघरका मुकुन्द सुवेदी र माधव सुवेदीले आमा धनीदेवीको स्मृतिमा बेनी अस्पताललाई रु ३० लाख मूल्य पर्ने डायलाइसिस मेशिन सहयोग गरेका हुन् । मिर्गौला सम्बन्धी रोगको उपचारमा प्रयोग गरिने दुई थान मेशिन माधव र उनकी धर्मपत्नी सपनाले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अनिल पाण्डे तथा अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष माधवप्रसाद रेग्मीलाई हस्तान्तरण गरे ।

हाल अष्टे«लियामा बस्दै आएका माधवले मिर्गौला रोगीको उपचार सहज होस भनी उपकरण सहयोग गरेको बताए । सुवेदी परिवारबाट प्राप्त उपकरण मिर्गौला रोगीको उपचारका लागि आधार बनेको डा पाण्डेले बताए । उनले छिट्टै डायलाइसिस सेवा शुरु हुने जानकारी दिए । अहिले जिल्लाका मिर्गौला रोगी उपचारका लागि पोखरा र काठमाडौँका अस्पताल पुगेर डायलाइसिस गराउँदै आएका छन् । अस्पतालले रु १३ लाखमा डायलाइसिसमा प्रयोग हुने उपकरण खरीद गरिसकेको बताइएको छ ।