राजनीति

वडादेखी माथीसम्म महिला अधिकारका लागि सङ्गठित हुनुहोस्ः नेता सिंह

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि केन्द्रसम्म महिला प्रतिनिधित्व सुनिश्चित गर्न महिला सङ्गठित भएर लाग्नुपर्ने बताएका छन् ।

महिला सङ्घका संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २२औँ स्मृति दिवसका अवसरमा महिला सङ्घ काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पार्टीको विधान संशोधन हुन लागेको भन्दै उक्त विधानमा महिलाको हक सुनिश्चित गर्न संस्थागतरुपमा महिला प्रतिनिधित्व खोज्नुपर्ने बताए ।

“महिला सङ्घको योगदानका कारण आज संसद्मा ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित भएको छ, पार्टीभित्र पनि ३३ प्रतिशत सुनिश्चित गर्न महिला सङ्घ संस्थागतरुपमा लाग्नुपर्छ,” उनले भने ।

उनले महिलालाई पढ्नका लागि डिल्लीबजार कन्या स्कूल खोल्नदेखि महिलालाई निर्वाचनमा मताधिकारको प्रयोग गर्ने अधिकार स्थापित गर्नसमेत स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । “नेपालका महिलालाई पुरुषसरह पु¥याउनका लागि स्व मङ्गलादेवीको ठूलो योगदान रहेको छ,” उनले भने ।