राजनीति

मोदीले नेपाल गएर नेपालीलाई नै ढाँट्छन्, बिदेश नीतिमा पूर्ण असफल छन् : अध्यक्ष गान्धी, भारतीय कांग्रेस

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आउने अन्तिम तयारी भईरहेका बेला भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश नीति स्पष्ट नरहेको आरोप लगाएका छन् ।

उनले भारत सरकारको छिमेकी देशसँगको नीति असफल रहेको औंल्याएका हुन् । युरोप भ्रमणमा रहेका गान्धीले बेलायतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारत सरकारको विदेश नीति तदर्थवादमै अगाडि बढिरहेको बताए ।

भारत सरकारको विदेश नीतिबारे जानकारी गराउन उनले नेपाल, श्रीलंका र अफगानिस्तानसँग भारतको सम्बन्धलाई उदाहरणका रुपमा पस्किएका थिए ।

‘रणनीति निर्माणमा देखिएको कमजोरी भारतको विदेश नीतिको ठूलो समस्या हो, अहिले विदेश नीति तदर्थवादमा चलेको छ’, गान्धीले भने, ‘नेपाल, श्रीलंका, अफागानिस्तान सबैसँगको सम्बन्ध असफल भएको छ ।’

बिमस्टेक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी काठमाडौं आउनु केही दिनअघि मात्र विपक्षी नेता गान्धीले यस्तो टिप्पणी गरेका हुन् । चार वर्षे कार्यकालमा ‘छिमेक पहिलो’ नीति लिएका मोदीले छिमेकी देशसँगकै सम्बन्ध बिगारेको र विदेश मामिलामा असफल भएको निष्कर्ष गान्धीले सुनाएका हुन् ।

 अध्यक्ष राहुल गान्धी भन्छन्:

‘मोदी नेपाल जान्छन् र एउटा कुरा भन्छन्, फर्केपछि अर्कै कुरा गर्छन्’, गान्धीले थपे, ‘न श्रीलंकासँगको सम्बन्ध राम्रोसँग सञ्चालन गर्न सकेका छन्, न त अफगानिस्तानसँग।

चीनसँग पनि उस्तै समस्या छ ।’ छिमेकी मुलुकसँग विश्वासयोग्य समझदारीका लागि आफूले पनि त्यस्तै भूमिका निर्वाह गर्नुपर्ने सुझाव उनले मोदीलाई दिएका छन् ।प्रधानमन्त्रीले अर्को मुलुकसँग गर्ने वार्ता देशको तर्फबाट गरिने वार्ता हो भन्दै गान्धीले भने, ‘त्यो संस्थागत संयन्त्रको सम्मान गर्न सकिएन भने राम्रो काम गर्न सकिँदैन।’

प्रधानमन्त्री मोदीले विदेश मन्त्रालयबाट ‘फिडब्याक’ लिने नगरेको बताउँदै गान्धीले विदेशमन्त्री सुष्मा स्वराजले भिसासम्बन्धी काम गरेर बस्नु परेको दावी गरेका छन् । ‘विदेश मन्त्री स्वराजले किन प्रवेशाज्ञाको काम गरेर बस्नु परेको छ रु’, गान्धीले प्रश्न गरे, ‘विदेश मन्त्रीको काम भनेको विदेशनीति बनाउने र रणनीति तय गर्ने हो ।

यसका लागि सुष्मा स्वराज सक्षम पनि हुनुहुन्छ’, उनले थपे, ‘तर सरकारले उनको सही प्रयोग गरेको छैन । उनलाई सधैँ अपमान गरिएको छ । कतिसम्म भने, विदेशमन्त्री स्वराज प्रधानमन्त्री भ्रमण टोलीमा समेत राखिने गर्नु भएको छैन ।’ इन्फोफोर नेपालबाट