समाचार

म्यान्माका राष्ट्रपति लुम्बिनीमाः म्यान्माबाट दुई हजार ५०० बुद्धधर्मालम्बीको भ्रमण

बुटवल । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका म्यान्माका राष्ट्रपति विन मिन्तले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।
राष्ट्रपति मिन्टले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नाका साथै त्यहाँस्थित ‘मार्कर स्टोन’ (सिद्धार्थ गौतमको पदचाप शिला) बारेमा जानकारी लिएका थिए । उनलाई मायादेवी मन्दिर, लुम्बिनीको गुरुयोजना, इतिहास र पुरातत्वका बारेमा पुरातत्वविद् वसन्त बिंडारीले जानकारी दिएका थिए ।

उनी मायादेवी मन्दिर परिसरमा विशेष प्रार्थनामा पनि सहभागी भए । उनलाई लुम्बिनीका बौद्धगुरुहरुको सहयोगमा प्रार्थना गरेका थिए । उनी लुम्बिनीमा पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रदेश नं ५ का प्रमुख उमाकान्त झा, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीलगायत लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए ।

लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा राष्ट्रपति मिन्टको स्वागतमा आयोजित विशेष कार्यक्रममा संस्कृतिमन्त्री अधिकारीले विश्वका बुद्धधर्मावलम्बीका लागि लुम्बिनी महत्वपूर्ण गन्तव्य रहेको बताउँदै राष्ट्रपति मिन्टको भ्रमणले लुम्बिनीको विकासमा महत्वपूर्ण प्रेरणा मिल्ने र योजनाबद्धरुपमा यस क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

लुम्बिनीको विकासलाई तीव्ररुपमा अघि बढाएर यहाँ आउने पर्यटकलाई विस्तार गर्ने कार्यमा नेपाल लागिपरेको उल्लेख गर्दै उनले केही दशकयता लुम्बिनी आउने तीर्थयात्रीको सङ्ख्यामा वृद्धि भएको र सन् २०२० मा लुम्बिनीको भ्रमण गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गरे ।

उनले बुद्धधर्मावलम्बीको ऐतिहासिक पाँचौंँ र छैटौंँ सम्मेलनमा विश्वका बुद्धधर्मावलम्बी एवं भिक्षुहरुलाई कूल जनसङ्ख्याको ८८ प्रतिशत जनसङ्ख्या बुद्धधर्मावलम्बी भएको म्यान्मामा भेला गराउन त्यहाँका प्रधानमन्त्रीले महत्वपूर्ण पहलकदमी लिएको पनि बताए ।

मन्त्री अधिकारीले सन् १९६० देखि दुई देशबीचको सम्बन्ध स्थापना भएदेखि नै नेपाल र म्यान्माका उच्चस्तरका नेतृत्वले दुई देशको भ्रमण गरेर सम्बन्ध एवं आपसी विश्वासलाई अझ प्रगाढ बनाएको बताए । सन् १९६७ मा संयुक्त राष्ट्र सङ्घका महासचिव म्यान्माका ऊ थान्तले लुम्बिनी भ्रमण गरेको स्मरण गर्दै मन्त्री अधिकारीले जापानका प्रा केञ्जो टाँगेले सन् १९७८ मा बनाएको गुरुयोजनानुसार लुम्बिनी क्षेत्रको विकास गर्नका लागि राष्ट्र सङ्घ र राष्ट्रसङ्घीय विकास कार्यक्रमले महत्वपूर्ण सहयोग पु¥याएको पनि उल्लेख गरे ।

मन्त्री अधिकारीले सन् १९९७ देखि युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको लुम्बिनीमा म्यान्माको बौद्ध विहार रहेको समेत उल्लेख गर्दै गत आर्थिक वर्षमा म्यान्माबाट दुई हजार ५०० बुद्धधर्मालम्बीले लुम्बिनीको भ्रमण गरेको जानकारी दिए ।
मायादेवी मन्दिरको कार्यक्रमलगत्तै राष्ट्रपति मिन्तले लुम्बिनीमा रहेको म्यान्माको कलात्मक बौद्ध विहारको अवलोकन गर्नाका साथै प्रार्थनामा सहभागी भएका थिए । बिम्स्टेकको शिखर सम्मेलनमा भाग लिन मङ्गलबार नेपाल आउनुभएका राष्ट्रपति मिन्त आज बिहान बुद्ध एयरको विशेष विमानबाट गौतमबुद्ध विमानस्थल भैरहवा हुँदै नेपाली सेनाको हेलिकप्टरबाट लुम्बिनी आएका हुन् । बिहान करीब ११ बजे आइपुग्नुभएका राष्ट्रपति मिन्तले लुम्बिनीमा करीब चार घण्टा बिताएका थिए।