प्रदेश 1

पहिरोबाट बस्ती जोखिममा

सोलुखुम्बु । पहिरोका कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकाञ्जेमा दुई घरपरिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा स्थानीयवासी सुब्बा थामी र सुकवीर थामीको परिवार रहेका छन् ।

निरन्तरको वर्षात्का कारण भदौ १ गते घरआँगनबाटै पहिरो गएपछि दुई घर विस्थापित भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक टुक्ति शेर्पाले जानकारी दिए । “पहिरोले घर नै जोखिममा प¥यो” पहिरो पीडित सुकवीरले भने, “अहिले आफन्तको शरणमा बसिरहेका छौँ ।”

निरन्तरको वर्षात्का कारण सुख्खा ठाउँबाट नै पानीको मूल फुट्न थालेपछि पहिरो गएको पीडित थामीले बताए । “पहिरोले घर वरिपरिको जमीन चिराचिरा भएको छ” अर्का पीडित सुब्बा थामीले भने । पहिरोले घरपरिवार नै विस्थापित भएपछि वडा कार्यालयले व्यवस्थापनको प्रयास शुरु गरेको जनाएको छ । वडा नम्बर ५ का वडाध्यक्ष ङिमाछिरी लामाले पहिरो रोकथामका लागि गाउँपालिकामा छलफल गरी तत्काल व्यवस्थापन गरिने बताए।

पहिरो रोकथामका लागि पीडितलाई जिल्ला प्रशासन कार्यलयअन्तर्गतको दैवी प्रकोप उद्धार समितिबाट १० थान तार जाली प्रदान गरिएको सहायक प्रजिअ शेर्पाले बताए । अविरल वर्षात्पछि खोपखर्कबाट निरन्तर पहिरो खस्दा सोताङ चेमेदुको ११ घर पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष ताराकुमार राईले बताए ।

पहिरो नरोकिएपछि स्थानीयवासी त्रसित छन् । स्थानीय लक्ष्मण राईका अनुसार पहिरोको जोखिम बढेपछि स्थानीयलाई रात बिताउन गाह्रो भएको छ । बस्ती जोखिममा परेपछि स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सोताङ गाउँपालिका–२ का वडासदस्य नैबहादुर राई बताउँछन् ।