कर्णाली प्रदेश

जुम्ला प्रतिष्ठान विद्युत्भार कटौतीमुक्त

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला मङ्गलबारदेखि विद्युत्भार कटौतीमुक्त भएको छ । दिनमा पटक–पटक विद्युतभार कटौती खेप्दै आएको प्रतिष्ठानलाई गोठीचौर गाउँपालिकास्थित नौमुले लघु जलविद्युत् आयोजना देपालगाउँले १५ किलोवाट विद्युत् सहयोग गरेपछि प्रतिष्ठानमा २४सै घण्टा बिजुली बल्ने भएको छ । गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी र प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेबीच मङ्गलबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रतिष्ठानको संरचना र उपकरण दुवै हुँदा पनि विद्युत् अभावका कारण जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभावलाई ध्यानमा राखेर विद्युत् सहयोग गरिएको अध्यक्ष भण्डारीले बताए।

विद्युत् अभावमा अपेक्षित स्वास्थ्य उपचार दिन नसकिरहेको अस्पताललाई अब सबै काममा सहज हुने रजिष्ट्रार काफ्लेको भनाइ छ । “खासगरी विद्युत् सेवा प्रभावकारी नहुँदा ठूला शल्यक्रिया गर्न जटिल भएको थियो”, उनले भने, “विद्युत् नियमितताले सरलता आउनेछ र उपकरण थपेर विद्युत् पनि थप्ने र प्रतियुनिट रु १० तिर्ने सम्झौता गरिएको छ ।”

सम्झौतापश्चात् विद्युत् नियमितताले आइसीयु, सिटी स्क्यान, रक्त सञ्चार केन्द्र, अक्सिजन प्लान्ट सञ्चालनमा सहजता आउने भएको छ । विद्युत्कै कारण रोकिएका सेवा अब भदौ महिनाभित्रै सञ्चालनमा ल्याउन र सेवा विस्तार गर्न प्रतिष्ठानले तयारी गरेको छ ।