लुम्बिनी

सामुदायिक विद्यालय शून्य दरबन्दीमा सञ्चालन

नवलपरासी । पश्चिम नवलपरासीमा ४५ सामुदायिक विद्यालय शिक्षकको शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ पश्चिम नवलपरासीका अनुसार हालसम्म शिक्षकको शून्य दरबन्दीमा वर्र्षौदेखि ती सामुदायिक विद्यालय सञ्चालन हुँदै आएका हुन् ।

हालसम्म शिक्षकको शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका विद्यालयलाई यस वर्ष शिक्षक भर्ना गर्न बजेट विनियोजन गरिएको इकाइका प्रमुख दीपेन्द्र ढकालले जानकारी दिए ।

ढकालका अनुसार विद्यालयमा विद्यार्थीको सङ्ख्याका आधारमा यसअगावै शिक्षकको दरबन्दीबिनै सञ्चालन हुँदै आएका सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्न न्यूनतम एउटा विद्यालयलाई एक दरबन्दीको शिक्षक पर्ने गरी बजेट व्यवस्थापन गरिएको हो ।

हालसम्मको अवस्थामा पश्चिम नवलपरासीमा आधारभूत तह कक्षा एकदेखि पाँच कक्षासम्म दुई, आधारभूत तह कक्षा छदेखि आठ कक्षासम्म २९ र माध्यमिक तह कक्षा नौँदेखि १० कक्षासम्म १४ सामुदायिक विद्यालय शिक्षकको शून्य दरबन्दीमा सञ्चालनमा छन् ।

यसरी वर्र्षौदेखि शून्य दरबन्दीमा सञ्चालनमा रहेका यी सामुदायिक विद्यालय स्थानीय स्रोत साधन परिचालन गरी निजी स्रोतबाट सञ्चालन हुँदै आएको अवस्था छ । अभिभावक, चन्दादाता वा अन्य दाताको सहयोगका भरमा सञ्चालन हुँदै आएका ती सामुदायिक विद्यालयलाई रकम विनियोजन भएपछि यस वर्ष केही भए पनि शिक्षकमा सहजता हुने देखिन्छ ।
सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न दरबन्दी पुनःवितरण, दरबन्दी मिलान, आवश्यक रहेको इकाइका प्रमुख ढकालले बताए । पश्चिम नवलपरासीका सात स्थानीय तहमा २०५ सामुदायिक विद्यालय रहेका छन् ।