समाचार

नेपालगञ्ज उपमहानगरद्वारा पार्किगं, नागरिकता र स्वास्थ्य उपचार सिफारिस निःशुल्क

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सडक किनारमा पार्किङ गरेवापत कुनै पनि शुल्क नलिने जनाएको छ ।

सडक किनारमा पार्किङ गरेवापत सर्वसाधारणसँग शुल्क लिने तयारी गरेपनि नगरवासीबाट सकारात्मक प्रतिक्रिया नआएपछि हाललाई स्थगित गरेको उपमहानगरपालिकाले जनाएको छ । नगरका विभिन्न ५० ठाउँमा पार्किङस्थल तोकेर शुल्क लिने तयारी थालेको थियो ।

सडकको नाला छाडेर निश्चित सडक क्षेत्र पार्किङका लागि व्यवस्था गरिएको छ । पार्किङस्थलमै व्यवस्थापन गर्ने गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले जानकारी दिए । नगरका विभिन्न १९ ठाउँमा कार, जीप र २८ ठाउँमा मोटरसाइकलका लागि पार्किङ क्षेत्र छुट्याइएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रमुख राणाको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले ६ विषयगत समिति पुनर्गठन, प्रवक्ता चयन र नागरिकता सिफारिस निःशुल्क गर्नेलगायतका निर्णय पनि गरेको छ ।

बैठकले वडा नं १ का अध्यक्ष प्रमोद रिजाललाई उपमहानगरपालिकाको प्रवक्तामा चयन गरेको छ ।

यसैगरी, उपमहानगरपालिकाको कार्यसम्पादन नियमावली २०७४ को व्यवस्थाअनुसार विषयगत समिति पनि पुर्नगठन गरिएको छ ।

यस्तै बैठकले नागरिकता सिफारिस र स्वास्थ्य उपचार सिफारिस निःशुल्क गर्ने निर्णय गरेको छ । यसअघि नागरिकता सिफारिसका लागि रु १०० लिने गरिएको थियो । यस्तै वैदेशिकबाहेक अन्य छात्रवृत्ति सिफारिस पनि निःशुल्क गरिएको छ ।

सूचना अधिकारी शरद पौडेलका अनुसार, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा खोजी गरी अधिग्रहण गर्न र नगरमा रहेका केही सरकारी भवन उपमहानगरपालिकामा हस्तान्तरण गर्नका लागि छानबिन समिति गठन गरिएको छ । वडा नं १० का अध्यक्ष बिन्दुभूषण बस्नेतको संयोजकत्वमा सो समिति गठन गरिएको हो ।