प्रदेश 1

बंशिलाघाटमा झोलुङ्गे पुल सञ्चालनमा

खोटाङ । खोटाङको दक्षिणी क्षेत्रबाट छिमेकी जिल्ला उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने सुनकोशी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । खोटाङको बराहापोखरी गाउँपालिका–६ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने बंशिलाघाटमा निर्माण गरिएको झोलुङ्गे पुल सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

रु एक करोड ४३ लाख लागतमा निर्माण गरिएको २३५ मिटर लम्बाइको झोलुङ्गे पुल सोमबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरे । दक्षिणी क्षेत्रका स्थानीयबासीका लागि दैनिक उपभोग्यवस्तु ढुवानी गर्ने तथा आफूले उत्पादन गरेको थोकवस्तु निकासी गर्ने मुख्य नाका बंशिलाघाटमा निर्माण गरिएको झोलुङ्गे पुलको क्षमता ८५ मेट्रिक टन रहेको छ ।

झोलुङ्गे पुल सञ्चालनमा आएसँगै खोटाङको बराहापोखरी, जन्तेढुङ्गा, खोटेहाङ गाउँपालिका र भोजपुरका केही स्थानीय तहका स्थानीयबासीलाई तराईका जिल्ला आवतजावत गर्न सहज भएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए ।

पौवासेराको बंशिलाघाटस्थित सुनकोशी नदी र नदीपारी चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरलाई झोलुङ्गे पुलले जोडेपछि दुवै जिल्लाबासीलाई सहज भएको छ । दुई वर्ष लगाएर निर्माण गरिएको झोलुङ्गे पुलको शिलान्यास २०७३ असार ११ गते गरिएको थियो ।

हिउँद महिनामा मात्र डुङ्गा सञ्चालन हुने बंशिलाघाटमा झोलुङ्गे पुलमार्फत् बाह्रै महिना आवतजावत गर्न सकिने भएपछि स्थानीयबासी हर्षित भएका छन् । वर्षौदेखि वर्षायाममा मात्र तराईसँगको सम्बन्धबिच्छेद हुँदै आएको दुई जिल्लाका स्थानीयबासीबीच बाह्रै महिना सहजरूपमा सम्पर्क हुने भएपछि हर्षित भएका हुन् ।