अन्तर्राष्ट्रिय

हवाई आक्रमणमा ५४ जनाको ज्यान गयो

मैमाना, अफगानिस्तान । अफगानिस्तानमा सोमबार भएको हवाई आक्रमणमा परी ५४ जना भन्दा बढीको मृत्यु भएको छ ।

उत्तरी प्रान्त फार्याबमा तालिवान लडाकूहरुलाई लक्षित गरी भएको हवाई आक्रमणमा परी अरु दर्जनौँ घाइते भएको जनाइएको छ ।

मारिनेमध्ये दुई जना तालिवान लडाकूका वरिष्ठ कमाण्डर मुल्लाह शाह वाली र मुल्लाह क्यायुम समेत रहेको सेनाका प्रवक्ता मोहम्मद हानीफ रेजाइले जानकारी दिए ।

“तालिवान लडकूहरुको एउटा समूहलाई सरकारी सुरक्षा फौजले हवाई आक्रमण गर्दा कम्तीमा ५४ जना मारिएका छन् भने अरु दर्जनौँ घाइते भएका छन्,” उनले भने ।

सुरक्षा अधिकारीहरुले त्यस क्षेत्रमा सुरक्षा कारबाही जारी रहेको जनाएका छन् । घटनाका बारेमा तालिवान लडाकूकोतर्फबाट अहिले सम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ । -एजेन्सी