पर्यटन/संस्कृति

भूमेलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्छ : सभामुख महरा

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्राकृतिक, साँस्कृतिक एवं गुरिल्ला पदयात्राको अनुपमस्थल भूमे गाउँपालिकालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताए ।

भूमे गाउँपालिकाद्वारा प्रकाशित ‘भूमे दर्पण एवं वृत्तचित्र’को आज यहाँ शुभारम्भ गर्दै सभामुख महराले राजनीतिक परिवर्तनको जगमा उभिएर अब जनताको आर्थिक एवं सामाजिक रुपान्तरण गर्न सबै केन्द्रित हुनुपर्ने बताए । उनले भने, “रुकुम (पूर्व) को आर्थिक समृद्धि पर्यटन प्रवद्र्धनले नै गर्छ, यसका लागि सरकारले थप लगानी बढाउनुपर्छ । ”

राजनीतिक दृष्टिकोणले भूमे गाउँपालिकामा रहेका लावाङ र चुनवाङस्थल ऐतिहासिक रहेको उनको भनाइ थियो । सरकारले रुकुम, रोल्पा, म्याग्दी र बाग्लुङलाई जोडेर मध्यपहाडी क्षेत्रमा गुरिल्ला पदमार्गका रुपमा विकसित गर्न थालेको छ । भूमेका अधिकांश बस्तीमा मगर समुदायको बसोबास छ । विमोचित पुस्तिकामा भूमेको परिचय समेटिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गुरिल्ला पदमार्गलाई बहुवर्षीय योजनामा समावेश गरी पर्यटन प्रवद्र्धनको काम भइरहेको बताए । उनले भूमेमा रहेको गणतन्त्र सङ्ग्रहालयलाई थप प्रवद्र्धन गर्न वजेट विनियोजन गरिने बताए । भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगर तथा उपाध्यक्ष मनकुमारी बुढा विष्टले मगर संस्कृतिको धनीका रुपमा रहेको गाउँपालिकालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको बताए ।