लुम्बिनी

पुलका खाँबा हेर्दै नदीमा हेलिँदाको आधा दशक

तुलसीपुर । चालक गाडी चलाइरहेका हुन्छन् तर, तिनका मुटुले ठाउँ छोडिसकेको हुन्छ । गाडीमा सवार यात्रुको होश ठेगानमा हुँदैन । चालकले सकी नसकी गाडीको स्टेयरिङ चलाइरहेको देख्नेहरुका मनमा प्रश्न उब्जन्छ, “चालकले गाडी चलाइरहेका छन् कि नदी ?”

दाङको लमही–तुलसीपुर र घोराही–तुलसीपुर सडक खण्डको यो दैनिकीको शृङ्खला वर्षौँदेखि चलेको हो । ती खण्डमा पर्ने नदीमा पुल निर्माणका लागि सम्झौता गरिएका ठेकेदार कम्पनीको लापरवाहीका कारण समयमै पूरा नहुँदा चालक र यात्रुहरुलाई पुलका खाँबा हेर्दै जोखिमपूर्ण यात्रा गर्नुको विकल्प छैन । कालोपत्र गरिएको भए पनि सडकमाथिबाट नदी बग्ने भएकाले यसबाट गाडी गुडाउनु पर्दा चालकहरु यसलाई पानीमुनिको पुल भन्ने गर्छन् । चालकहरुले यस खण्डको बाटो असुरक्षित रहेकोे संकेत मात्रै पाएमा पनि इमिलियाको बाटो प्रयोग गर्ने गरेका छन् ।

गाडी बगाउने खतरा
वर्षायाममा लमहीदेखि तुलसीपुर जाने क्रममा बाढी आउँदा बीचैमा रोकिनुपर्ने बाध्यता हुन्छ । “जोखिम मोलेर गाडी खोलामा हाल्नुपर्ने अवस्था छ,” लमही नगरपालिका २ निवासी सवारी चालक छेदुलाल चौधरीले भने ।
आँखा उपचार केन्द्र घोराहीमा कार्यरत नेत्र अधिकृत जोगीराम चौधरीले असारदेखि भदौ महिनासम्म साना गाडीमा आवतजावत गर्दा बगाउने खतरा भएकाले नदीको अवस्था हेरेर ठूला बसहरु चढेर जानुपर्ने बाध्यता यथावत रहेको बताए । धेरै पानी पर्दा ठूला गाडीहरु यस मार्गबाट ओहोरदोहोर गर्न सक्दैनन् ।
नेपाल नेत्रज्योति संघ दाङका सभापति तुलसीपुर–७ निवासी कृष्णकुमार गिरीले लमही–घोराही सडक खण्डमा पर्ने खोलामा समयमै पक्की पुल नबन्दा र उपयुक्त डाइभर्सन नहुँदा कष्टकर यात्रा गर्नुपरेको गुनासो गरे ।
घोराही–तुलसीपुर र घोराही–लमही सडक खण्डका खोलामा सवारीसाधन चलाउँदा चलाउँदा वाक्कै भएका अर्का चालक पूर्ण वलीले भने, “पुल निर्माणको काम गर्दा धेरै ठाउँमा पक्की सडक भत्काइएको छ, जसले गर्दा ती ठाउँमा खाल्डा देखा पर्ने गरेका छन् । पानी परेको बेला ती खाल्डाले झन् जोखिम बढाउँँछन् ।”
चालकहरुका अनुसार घोराही–तुलसीपुर सडक खण्डको खुर्जे र संक्राम खोलाका साथै घोराही–लमही सडक खण्डको कटुवाखोला र बबई नदीमा बढी जोखिम हुने गरेको छ । तर यसतर्फ सडक डिभिजन कार्यालय वा सम्बन्धित ठेकेदारले ध्यान नदिएको नागरिकहरुको गुनासो छ । वर्षौंसम्म पनि पुल निर्माणको काम नगरी सर्वसाधारण जनतालाई दु।ख दिने निर्माण व्यवसायीलाई राज्यले कारबाही गर्नुपर्ने माग उनीहरुले गरिरहेका छन् ।
“समयमै काम नगर्ने व्यवसायीलाई कारवाही गर्नेतर्फ कुनै निकाय लागेको छैन, हामीहरुलाई निकै समस्या छ,” अर्का चालक अर्जुन केसीले भने ।

निर्माणको जिम्मा लिएपछि बहानाबाजी

घोराहीको कटुवा खोला पुल निर्माणका लागि २०७१ भदौ ११ गते सम्झौता भएको थियो । विसं २०७४ असोज १० गतेसम्म पुल निर्माण गरिसक्ने गरी शंकरमाली निर्माण कम्पनीसँग सम्झौता भएकामा निर्माण पक्षले प्राविधिक समस्या देखाउँदै काम पूरा गरेको छैन ।
बबई नदीमा २०७५ साउन १६ गतेसम्म पुल निर्माण गरिसक्ने गरी २०७२ माघ १७ गते अनक/बज्रगुरु जेभी निर्माण प्रालिसँग भएको सम्झौता पनि लागू हुन सकेन ।

घोराही–तुलसीपुर सडक खण्डको पत्रेखोलामा पुल निर्माणका लागि शंकरमाली निर्माण कम्पनीसँग २०७४ भदौ ९ गतेसम्ममा काम सम्पन्न गर्ने गरी गत २०७१ भदौ ११ गतेका दिन सम्झौता भएको थियो । संक्राम खोलामा २०७५ वैशाख ४ गतेभित्र पुल निर्माण गर्न रौताहा कन्स्ट्रक्सन प्रालिसँग २०७२ माघ ५ गते सडक डिभिजन कार्यालयसँग सम्झौता गरिएकामा निर्माण कार्य निकै सुस्त देखिएको छ ।

यता, घोराही–तुलसीपुर सडक खण्डको गुर्जे खोलामा बज्रगुरु कन्स्ट्रसन निर्माण प्रालिसँग पुल निर्माणका लागि २०७२ माघ १० गते सम्झौता भई २०७५ वैशाख १६ गते पुल निर्माण गरिसक्ने भनिएकामा सो काम पनि असरल्ल छ । यी पुल र सडकहरुको निर्माणको सम्पूर्ण काम केन्द्र सरकारकै जिम्मेवारीमा छ ।
घोराही–लमही सडक खण्डको बबई नदी पुल र घोराही–तुलसीपुर सडक खण्डको गुहारखोला, संक्राम खोला र गुर्जे खोलाको पुल निर्माणको अवस्था तुलनात्मक रुपमा सन्तोषजनक पाइएको डिभिजन सडक कार्यालय दाङले जनाएको छ । कालिका कन्स्ट्रक्सनले निर्माण थालेको घोराही–तुलसीपुर सडक खण्डकै ग्वार खोलामा पनि प्रगति सन्तोषजनक रहेको उसले बताएको छ ।

मुख्यमन्त्रीको चासो

लमही–तुलसीपुर खण्डको बबई, सिस्ने, कटुवा, सेवार, गुर्जे, हापुर, पत्रे, संक्राम, ग्वार र कालाखोला गरी १० खोलाहरु रहेकामा बबई, कटुवा, गुर्जे, पत्रे, संक्राम र ग्वार खोलामा पक्की पुल निर्माणको काम जारी छ । सिस्ने, सेवार, कालाखोलामा अझै पानीमा हेलिएर यात्रा गर्नुपर्ने बाध्यता छ । सर्वसाधारण यात्रुलाई मात्र होइन प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु र उच्चपदस्थ अधिकारीलाई पनि अधिकांश खोला र नदीमा पक्की पुल निर्माणको कार्य सन्तोषजनक लागेको छैन । दाङबाट निर्वाचित प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले निर्माण कार्यमा भइरहेको ढिलाइ र लापरवाहीका कारण सर्वसाधारणले भोग्नुपरेको हण्डरका बारेमा सम्बन्धित निकायका अधिकारीसँग पटक पटक परामर्श गरिसकेका छन् ।
रासससँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले हाल बजेटको अभाव नभएको तर, कामको जिम्मा लिने पक्षलाई समयमै काम सम्पन्न गर्न लगाउन केन्द्र सरकारले ताकेता गर्नुपर्ने प्रतिक्रिया दिए । उता सडक डिभिजन कार्यालय, दाङका इञ्जिनियर शेखर योगी भने पुलहरुको निर्माण नयाँ डिजाइन अनुरुप गर्नुपर्ने भएकाले केही ढिलाइ भएको ठह¥याउँछन् ।
“ती सडक खण्डमा बन्ने सम्पूर्ण पुलहरुको नयाँ डिजाइन गर्ने काम भइरहेको छ,” इञ्जिनीयर योगीले भने, “नयाँ डिजाइनअनुसार पुल निर्माण गर्नुपर्ने तर, निर्माण अवधि कम भएकाले ढिलाइ भएको छ ।” उनका अनुसार कतिपय स्थानमा सरकारले निर्माण पक्षलाई समयमै बजेट नदिँदा काम अघि बढ्न नसकेको हो ।
डिभिजन सडक कार्यालयका अनुसार घोराही–लमही सडक खण्डको कटुवा खोलामा रु चार करोड १० लाख, बबई खोलमा रु ११ करोड, घोराही–तुलसीपुर सडक खण्डको पत्रे खोलामा रु ५ करोड, गुर्जे खोलामा रु ८ करोड र संक्राम खोलामा रु ८ करोडमा पुल निर्माणका लागि सम्झौता भएको छ । रु २० करोडको लगानीमा ग्वार खोलामा पक्की पुल बनाउने काम शुरु भएको थियो ।
घोराही–लमही तथा घोराही–तुलसीपुर सडक खण्डका १० खोलामध्ये पाँच वटा पुल सडक डिभिजन कार्यालय र एउटा पुल चाहीँ पुल महाशाखाअन्तर्गत निर्माण भइरहेको छ । तर निर्धारित समय कटिसक्दासमेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन । पुल निर्माणका लागि आवश्यक सामग्रीहरु भारतबाट ल्याउनुपर्ने भएकाले पनि काममा ढिलाइ भइरहेको इञ्जिनीयर योगीको भनाइ छ ।