कृषि

कृषि ज्ञान र पशुविज्ञ केन्द्रको कार्यालय स्थापना

म्याग्दी । गण्डकी प्रदेशको कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालयले आइतबार बेनीमा कृषि ज्ञान केन्द्र एवं भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गरेको छ ।

खारेज भएका कृषि विकास र पशुसेवा कार्यालयको सदरमुकामस्थित भवनमा स्थापना भएका दुवै कार्यालयका कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री लेखबहादुर थापाले उद्घाटन गरे । स्थानीय तहसम्म प्रदेश सरकारको उपस्थिति र पहुँच स्थापित गराउन कार्यालय स्थापना गरिएको मन्त्री थापाले बताए ।
उनका अनुसार म्याग्दी र मुस्ताङका स्थानीयतहसँग संयोजन तथा समन्वयको लागि बेनीमा कार्यालय स्थापना भएको हो ।
मन्त्री थापाले भने “प्रदेशका ८५ वटा स्थानीय तह र ७५९ वटा वडालाई पोखराबाट संयोजन गर्न सम्भव नभएकाले जिल्लास्तरमा कार्यालयको आवश्यकता परेको हो ।”

गण्डकी प्रदेशका सांसद विनोद केसीले ज्ञान र विज्ञ केन्द्रमार्फत कृषकसम्म नयाँ प्रविधि, ज्ञान र सीपको विस्तार गर्नुपर्नेमा जोड दिँदै कृषि र पशुपालनको सम्भावनालाई परिचालन गरेर रोजगारी सिर्जना र आयआर्जनको वातावरण बनाउनुपर्ने बताए ।