खेलकुद

राष्ट्रिय क्रिकेट टोली (नेपाल) तेस्रो खेलमा विजयी

काठमाडौँ । एशिया कप छनोटको लागि विशेष प्रशिक्षणका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यहाँको कोल्ट्स क्रिकेट क्लबसँगको तेस्रो अभ्यास खेलमा ५ विकेटले विजयी भएको छ ।

टस जितेर पहिला व्याटिङ गरेको कोल्ट्सले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २१६ रनको योगफल तयार पारेको हो । कोल्टस्का लागि हसन हेवा नायकेले ५९, आयना श्रीवाडनेले ३६, मदुरा लकमलले ३१ रन तथा विश्व चतुराङ्गाले २६ र क्रिसन नाथले २४ रन जोडे ।

नेपालका सोमपाल कामीले ३ करण केसी र सागर पुनले समान २/२ तथा ललित भण्डरीले एक विकेट लिए । २१७ रनको विजयी लक्ष्य नेपालले ४२ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ५८ रन बनाए । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेख २३ तथा ओपनर सुास खकुरेलले २२ र दीपेन्द्रसिंह ऐरी ५२ रनमा नटआउट रहे ।

कोल्ट्ससँगको अन्तिम अभ्यास खेलपछि नेपाली टोली सोमबार श्रीलङ्काबाटै मलेसिया प्रस्थान गर्ने टोली व्यवस्थापक रमन सिवकोटीले जानकारी दिए । कोल्ट्स क्लब सन् १८७१ मा स्थापना भएको श्रीलङ्काको पुरानो क्लब हो । यस क्लबले श्रीलङ्काको फस्टक्लास लिग प्रिमियर ट्रफी छ पटक जितिसकेको छ । यसअघि नेपालले पहिलो अभ्यास खेलमा श्रीलङ्का आर्मी स्पोर्ट्स क्लबलाई बुधबार ६७ रनले हराएको थियो । त्यस्तै शुक्रबार भएको दोस्रो अभ्यास खेलमा स्थानीय ब्लुमफिल्ड क्लबलाई १६७ रनले पराजित गरेको थियो ।