समाचार

८१ घण्टा बोलेर वल्र्ड रेकर्ड राख्ने अन्तरामको सबैँ तयारी पूरा

काठमाडौँ । सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीको अभियानको सम्पूर्ण तयारी पूरा भएको छ ।

केसीले सोमबारदेखि गोकर्णेश्वर–५ स्थित ईस्ट पोल माविमा बिहान ६ बजेदेखि अभियान शुरु गर्न सम्पूर्ण तयारी पूरा भएको कार्यक्रमको संयोजन गरिरहनुभएका न्यू माइण्ड्स एकेडेमिका अध्यक्ष कुमारराज सुवेदीले राससलाई जानकारी दिए । राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई सम्भव भएसम्म तन, मन र धन सबै किसिमले सहयोग गर्न उनले आह्वान गरेका छन् ।

अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लागेका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेका थिए । त्यसबेला प्राविधिक कारणले गिनिज वल्र्ड रेकर्डस्ले प्रमाणीकरण नगरेपछि यसवर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालेका हुन् ।

शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागी त्यसको तालीम समेत दिने गरेका केसीले यसपटक ‘विश्वले चिन्ने छ, नेपालीलाई’ भन्ने नारासाथ नयाँ कीर्तिमान कायम गर्न लागेका हुन् । केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताएका छन् ।

आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि हुने बताउँदै विभिन्न्न विधा समेत छनोट गरिसकेको जानकारी दिएका छन् ।

नुवाकोट जिल्ला चिसापानीमा जन्मेर काठमाडौँको जोरपाटीलाई कर्मथलो बनाएका केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएका थिए । तर त्यसलाई प्रमाणीकरण गरिएको थिएन । अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको अभिलेख (रेकर्ड) गिनिज वल्र्ड रेकर्डस्मा छ ।